क्यान्सरसँग लड्दा लड्दै ‘बुढाबुढी’लाई अक्षर सिकाइरहेका यी मास्टर

सेताम्य उनको कपालमा भदौरे घाम लुकामारी खेल्दै थियो। जाली लगाएको ढोका अघिल्तिर कुर्सी मिलाउँदै उनले भने– समय पनि कस्तो आइदियो, आफ्नैसँग टाढा भाग्नुपर्ने। घरमा आएका पाहुनालाई पानीसमेत खुवाउन नपाइने।

‘कहाँबाट आउनुभाको रे!’ कुर्सी मिलाइसकेर उनले भने– ‘बुढ्यौलीले छोएछ कि क्या हो। बिर्सिने बानी लाग्यो।’

लगभग ७०को उकालो लागिसकेको उनको बुढ्यौली ज्यान भने अझैं हृष्टपुस्ट छ। अनुहारमा मुजाहरू अझै टल्किएका छैनन्।

क्यामेराको लेन्स मिलाउँदै गर्दा उनको फोन बज्यो। फोनमा उनले आफ्ना एकजना शुभेच्छुकलाई भन्दै थिए, ‘सकभर वृद्धाश्रम त बनाउने नै होइन। भएका पनि बन्द गर्नुपर्छ। आफ्ना छोराछोरीलाई यो संस्कार सिकाउनुपर्छ।’ उनका ती शुभेच्छुकले एउटा बृद्धाश्रम खोल्नेबारे उनीसँग सल्लाह माग्दै थिए सायद।

फोनमा उनलाई ‘बधाई’ सन्देश पनि आएको थियो। ‘धन्यवाद’को जवाफ फर्काउँदै उनले भने ‘फेसबुकमा लेखेको अघिल्लो वर्ष हो।’

यो वर्ष पनि उनलाई फेसबुकले नै सम्झाइ दियो– अघिल्लो वर्ष उनले युनेस्कोको ‘अन्तर्राष्ट्रिय किङ सेजोङ साक्षरता’ पुरस्कार पाएका थिए। त्यो २० हजार डलरको थियो।

कृष्णमुरारी, वज्रवाणी अनि चट्याङ मास्टर

नेपाली साहित्यको हास्यब्यङ्ग्य विधामा ‘चट्याङ मास्टर’ चोटिलो नाम बनेर जमिसकेको छ। सायद यो नाम अब नेपाली साहित्यकाशमा ‘अमिट’ भइसक्यो।

कृष्णमुरारी गौतम। २०१० सालमा भक्तपुरको झौंखेलमा जन्मिकाएका उनलाई यो नाम आफ्नी हजुर आमाले दिएकी थिइन्। पढ्नमा निकै तेज उनी स्कुले जीवनदेखि नै अलि उट्पट्याङ थिए। भारतमा अध्ययन गरेका उनले कहिलै बिजोर कक्षा पढेनन्। हरेक कक्षामा बोर्ड फर्स्ट नै हानिदिन्थे। स्कुलले एकैपटक एक कक्षा बढाइ दिन्थ्यो। दुई कक्षाबाट सिधै चार कक्षामा।

त्यही उट्पट्याङ बेहोराले अन्तत: उनलाई लागि ब्यंग्य लेख्न सिकायो।

राजाको दबदबा। पञ्चायती शासन थियो। जागिरे उनको जीवन काम भने सरकारी अड्डाहरूसँगै गर्नुपर्थ्यो। तर लेख्ने त्यो बानी त कहाँ छुट्थ्यो र!

ब्यङ्ग्य लेख्न कसै गरे पनि छोड्न सकेनन्। खुनमै ब्यंग्यवाण बग्थ्यो सायद। ‘कृष्णमुरारी’लाई लुकाउन उनले ब्यंग्यहरूमा ‘बज्रवाणी’ लेख्न थाले।

कसैले पञ्चायती प्रशासनको कान फुकिदियो – त्यो कृष्णमुरारी शर्मा र राजालाई गाली गर्दै लेख्ने ‘ब्रजवाणी’ त एउटै मान्छे हो।

अब परेन फसाद! पुलिसले लैजान्छन्। जेल हाल्छन्। अनि पिट्छन् पनि। बा, कान्छा बा अनि स्कुलमा मास्टरहरूसँग कहिलेकाहिँ उनले पिटाइ खान्थे।

तर पुलिसको पिटाइ भनेपछि त डरै लाग्ने। घरमा पनि रूवावासी चल्न थाल्यो। ‘बा’हरूले किन यस्तो लेख्छस्? भनेर गाली गर्न थाले। श्रीमती त झन् पिरोलिन थालिन्।

केही समय उनले पत्रिकामा लेख्न छोडे। रगतमा रफ्तारले बगिरहेको लेख्ने ‘नशा’ले त कहाँ छोड्थ्यो र! बेला बेला रगत त्यसै त्यसै उम्लिन्थ्यो।

एक दिन त श्रीमती सुतिसकेपछि रातभरि उनी लेख्न बसे। सरसर्ती लेखे। फेरि सुद्धासुद्धी मिलाए। अनि लाग्यो ‘वाह! क्या राम्रो लेखेछु…’ अनि फेरि त्यसलाई च्यातचुथ पारेर फालिदिए। पत्रिकामा छापियो भने त पुलिसले समाइहाल्छ नि!

लेख्न नपाएर छटपटाइरहेका ‘बज्रवाणी’लाई कसैले सुझाव दियो– अब तपाईंको नाम ‘चट्याङ मास्टर।’ सुरूमा त मनले मानेन ‘बज्रवाणी’ कसरी मेटाउँ?

त्यसैको अर्थ लगाइयो– ‘बज्र’ भनेको चट्याङै हो। ‘वाणी’ भनेको सिकाउने, मास्टरी त हो नि!

अनि फेरि पत्रिकाहरूमा अर्को नाम छापिन थाल्यो ‘चट्याङ मास्टर।’ त्यसअघि गद्यमा ब्यंग्य लेख्ने ‘बज्रवाणी’ अब ‘चट्याङ मास्टर’ बनेर पद्यमा ब्यंग्य लेख्न थाले।

‘पद्य लेख्दा त झन् मजा आयो। झन् लेख्न मन लाग्ने’ अद्भूत लाग्ने लेखाइका ती यादहरू अहिले पनि उनको स्मरणमा ताजा भइदिन्छन्।

पाँच देशमा ७ वटा चर्चित विश्वविद्यालयमा पढेका उनी ‘कृषिविज्ञ’ पनि हुन्।

‘तर आठ कक्षा फेल भएर नेता भइसकेपछि सबैको विज्ञ भएजस्तोचाहिँ होइन है फेरि!’ कुराकानीमै नेताहरूप्रति ब्यंग्य गर्नचाहिँ उनले अहिले पनि छोड्दैनन् ‘हाँसो मजाक त अहिले तिनै नेताहरूले सडकमा अनि सरकारमा गरिरहेका छन्। अब हाम्रो के काम?’

एकातिर कृषिविज्ञ अर्कोतिर ब्यंग्य लेखक। जित त आखिर रहरकै हुन्छ। त्यो विज्ञता उनलाई जीवन धान्न काम लाग्यो। त्यही पढेर उनी अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा जागिरे पनि भए। विश्वविद्यालयमा पढाए पनि। तर त्यो लेख्ने ‘नशा’मा ‘एडिक्ट’ भइसकेका उनलाई अहिले पनि धेरैले ‘कृषिविज्ञ’ होइन, ‘चट्याङ मास्टर’ भनेरै चिन्छन्।

२०५५ साल वैशाख १९ गते टंक आचार्य, थरेन्द्र बराल, लक्ष्मण गाम्नागे, माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, धीरेन्द्र प्रेमर्षि, अर्जुन पराजुली, देवी घिमिरेहरूसँग मिलेर उनले ‘सिस्नुपानी नेपाल’ अभियान सुरू गरे। हास्यब्यंग्य कार्यक्रमहरू गर्ने यो अभियानले वि. सं. २०५५ सालकै तिहारमा बासुदेव लुइँटेलको आँगनबाट सुरू गरेको ‘देउसी’ कार्यक्रम अहिले पनि ‘सिस्नुपानीको देउसी भैलो’ नामले चर्चित छ।

उनीहरूले एउटा एनजिओ एन्टेना फाउन्डेसन पनि सुरू गरे। सामाजिक सन्देशमूलक रेडियो कार्यक्रम उत्पादन गर्ने यो संस्था अहिले पनि सक्रिय छ।

‘चट्याङ गीता’ भनेर चिनिने उनका करिब आधा दर्जन ब्यंग्य पुस्तकहरू छन्। केही गद्यमा लेखिएका छन् र केही पद्यमा लेखिएका छन्।

यसरी बेलाबेला सडक अनि सभाहरूमा वर्षिरहने ‘चट्याङ मास्टर’ केही समय एकाएक गायब भए। साहित्यकारहरूले खोजिरहेका थिए। उनका शुभेच्छुकहरूले खोजिरहेका थिए। केही समयअघि पत्रकारहरूले पनि उनलाई खोजे र भेटाए पनि। त्यसपछि बल्ल थाहा भयो, चट्याङ मास्टर अहिले के गर्दैछन्?

‘एजिङ नेपाल’को यात्रा

बुवा नारायणप्रसाद गौतम केही बिरामी थिए। विस्तारै बुढा बुवाले ससाना कुराहरू पनि बिर्सिन थाले। बुवाका स्मृतीहरू एकाएक हराउन थाले। हुँदा हुँदा बुवाको व्यवहार त बच्चाबच्ची जस्तै पो हुन थाल्यो।

ब्यथाले च्यापिसकेछ। बुवालाई अल्जाइमर भयो। बेहोरा ‘अवोध’ केटाकेटीको जस्तै हुने। शरीर छ मस्तिस्कले कामै गर्दैन। अब बुवालाई छोराछोरी जस्तै स्याहार्नुपर्ने भयो।

बुवालाई स्याहार्नुपर्ने त्यो समयले कृष्णमुरारीको जीवनकै बाटो बदलिदियो।

जीवनको बाटो फेरिन कति नै बेर लाग्छ र!

कहिलेकाहिँ ठेस लाग्दा पनि जिन्दगीको बाटो बदलिन्छ।

त्यो उनले सोचे ‘अहो! बुढाबुढीलाई स्याहार्न त धेरै गाह्रो पो।’

स्याहार्नेलाई त त्यत्ति गाह्रो झन् ‘स्याहारिनुपर्ने’को जिन्दगी कस्तो होला?

आफ्नो जिन्दगी कसैका लागि बोझ बनेर बाँच्नुको पीडा कस्तो होला?

आफै ‘बाउ’ बनेर कल्पिरहेका कृष्णमुरारीलाई लाग्यो ‘हो नि! बाउ त मेरामात्रै छैनन्। धेरैका छन्। आमाहरू पनि छन्। यो देशमा उनका बाउआमा जस्तै धेरै बुढाबुढीहरू छन्।

हरेक कुरामा अरूको बोझ बनिरहेका ती बुढाबुढीको जिन्दगी कस्तो होला?’

त्यतिबेला उनलाई लाग्यो अब ‘बुढाबुढीका लागि केही त गर्नैपर्छ।’

सन् २०११ तिर उनले एउटा संस्था बनाए ‘एजिङ नेपाल।’

देशमा सबै अधिकारका बारेमा लडाइँ छ। महिला अधिकार छ। बालअधिकार छ। बालशिक्षा छ। प्रौढ शिक्षा छ। तर ‘बुढ्यौली’(जेष्ठ नागरिक शिक्षा) खै? अरूखाले जीवनमा धेरै ‘अधिकार’का कुरा जोडिएका छन् तर बुढाबुढीको जीवनमा? केही छैन।

अहिले पनि उनी भन्छन् ‘खै त बृद्धबृद्धाको अधिकार!’

सरकारले ‘भत्ता’ भनेर दिएको केही हजारले बुढ्यौली जीवनको खुसी कहाँ किन्न सकिन्छ र!

उनले देखे देशका धेरै बुढाबुढीहरू पढेलेखेका छैनन्। र, एउटा बिचार आयो, सबैभन्दा पहिला त उनीहरूलाई अक्षर सिकाउनुपर्छ।

बच्चाबच्चीहरूलाई पढाउन सजिलो छ। केही वयस्क भएकाहरूलाई सम्झाउन बुझाउन सजिलो हुन्छ। तर बुढ्यौली दिमागमा कलिला अक्षरको आकृती कोर्न त सजिलो कहाँ छ र!

तै पनि उनले हिम्मत गरे।

केही समयपछि त्यही रोगले बुवाको मृत्यु भयो। त्यसपछि बुढाबुढीको ‘अधिकार’को लडाईंमा उनी झन् होमिए।

संघसंस्थाहरूमा धाए। नेताहरूलाई भेटे। मन्त्रालयहरूमा खुब धाए। कसैले कुरा बुझेनन्। कसैले सुन्दै सुनेनन्। एउटा मन्त्रीले भर्खर कुरा बुझ्न लागेका हुन्छन्। फ्याट्ट अर्को भइदिन्छ। एउटा सचिवलाई कुरा बुझाउँदै हुन्छन्, फ्याट्ट उसको सरूवा भइदिन्छ।

‘अरे भाइ! हाम्रो सरकार हो नि! न उनीहरू काम गर्छन् न गराउन सजिलो छ’ उनलाई लाग्छ ‘तर सबै कुरा सरकारले गरिदेओस् भन्ने पनि होइन। देशका लागि, समाजका लागि हरेकले केही न केही त गर्नैपर्छ। सरकार भनेको त यस्तै त हो नि!’

केही समय उनले वृद्धवृद्धाहरूका हक र अधिकारका बारेमा विश्वभरि गरिएका अध्ययन अनुसन्धानहरू छापिने एउटा पत्रिका पनि प्रकाशन गरे। विदेशहरूमा पनि अध्ययन गरे।

वृद्धवृद्धाहरूलाई कसरी पढाउने भनेर? जिज्ञासासहितको एउटा लेख पढेर अमेरिकाबाट एकजना शुभचिन्तकले उनलाई सम्पर्क गरे। अनि उनकैको सहयोगमा ‘एजिङ नेपाल’ले एउटा पाठ्यक्रम तयार गर्‍यो। त्यही अनुसार उनले काठमाडौंको गौशालामा वृद्धवृद्धाहरूको एउटा समूह बनाएर पढाउन सुरू गरे।

पढ्नलेख्न नजानेका वृद्धवृद्धाहरू। अरू सहारा त चाहिन्छ नै आफै भुल्न पनि सहारा चाहिन्छ।

‘मोबाइल चलाउनुपर्‌यो, अक्षर अंक चिनिदैंन। आफ्ना छोराछोरी वा नातीनातिनीलाई नै भन्नुपर्‍यो। मोबाइल गेममा भुलिरहेका आजको पुस्ताले त्यो काम गर्नै झर्को मान्छ। धेरैजसो सहर पसिसकेका छन्। बाउआमालाई पनि सहरमै ल्याएका छन्। तर जीवनका सबै कुरा त उनीहरूले गाउँघरमै छोडेर आएका हुन्छन्। छोराछोरीसँग’ कृष्णमुरारीको अनुभवले भन्छ ‘सहरमा त झन् उनीहरू एक्लो हुन्छन। गाउँको त्यो ‘खुसहाल’ जिन्दगी कहाँ पाउनु र! छोराछोरी समय दिन्नन्। एक्लै घुम्न जानु चोकको नाम पढ्नुपर्‌यो। ट्याक्सी, गाडी चिन्नुपर्‌यो। सहरमा झन गाह्रो छ, बुढ्यौली जीवन बाँच्न।’

त्यसैले उनले बुढाबुढीलाई पढाउने निधो गरे। एउटा सानो समूहबाट सुरू गरिएको यो अभियानबाटै उनले धेरै बृद्धबृद्धाहरूलाई अक्षर चिनाइसकेका छन्।

‘अहिले त उनीहरूले नै मलाई पत्रिका पढेर सुनाउँछन्। छोराछोरीसँग इमेलमा सवाल-जवाफ गर्ने भएका छन्। आफै भिडियो कल गरेर विदेशमा भएका छोराछोरी आफन्तहरूसँग नजिकिन सकेका छन्’ कृष्णमुरारीलाई सन्तोष लाग्छ अचेल ‘कम्तीमा हामीले चिनाएका अक्षरहरू अहिले ती बुढाबुढीका खुसी बनेका छन्।’

सन् २०१९ अक्टोबर १। जेष्ठ नागरिक दिवसको दिन कृष्णमुरारीले अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रमलाई सम्बोधन गरे।

२०२०मा जेष्ठ नागरिकको शिक्षाको क्षेत्रमा काम गरेवापत उनको संस्थालाई युनेस्कोले २० हजार डलरको पुरस्कार दियो। यो पुरस्कार उनको अभियानमा थप उर्जा बनेर आयो।

अब एजिङ नेपालमार्फत उनी फेरि लड्दैछन्, कम्तीमा विश्वविद्यालयस्तरको पाठ्यक्रममा जेष्ठ नागरिकको बारेको पढाइ समावेश गर्न। त्यसका लागि उनको संस्थाले सोधपत्र लेख्नेहरूका लागि छात्रवृत्ति पनि दिने गरेको छ। केही विद्यार्थीहरूले त्यसको अध्ययन अनुसन्धान पनि गर्दैछन्।

‘नत्र बुढाबुढीलाई त कसले हेर्ने र! जेष्ठ नागरिकहरूको बारेमा नेपालमा कुनै गहिरो अनुसन्धान त भएकै छैन’ उनी भन्छन् ‘कम्तीमा विश्वविद्यालयमा त्यो शीर्षक भयो भने नयाँ पुस्ताले पनि केही सिक्छ। अनि भविष्यमा जेष्ठ नागरिकले दु:ख भोग्नुपर्दैन।’

नेपालमा सबैजसो रोगका विशेषज्ञ छन् तर वृद्धवृद्धाका लागि छुट्टै उपचार गर्ने विशेषज्ञ डाक्टर (जेरियाट्रिसियन) विरलै छन्। उनले त्यसका लागि पनि अभियान चलाइरहेका छन्। त्यो विषयमा पढाउनका लागि पनि उनले प्रेरित गरिरहेका छन्।

कुनै बेला यो समाज अनि सरकारका वेथितिहरूमा ब्यंग्यवाण हान्ने चट्याङ मास्टर अब ‘बुढा’ जिन्दगीहरूमा कलिला अक्षर कुद्न सिकाउने ‘मास्टर’ बनेका छन्।

प्रोटेस्ट ग्रन्थीमा भएको चौथो चरणको क्यान्सरसँग कृष्णमुरारी आफैँ लडिरहेका छन्, शरीरमै मृत्यु बोकेर।

शरीरमा क्यान्सर फैलिसकेको छ सायद, कहाँ कहाँ पत्तो छैन। तै पनि उनको मुहारबाट हासो सित्तिमित्ति हराउँदैन। अरूलाई पनि हसाइरहन्छन्।

क्यान्सरको ‘मृत्युभारी’ बोकेर ७० को उकालो चढ्दै गरेका यी मास्टरलाई अलि पारीको त्यो ‘बुढ्यौली’ जिन्दगीको डर लाग्छ कि लाग्दैन?

‘त्यो बुढ्यौली जीवनको डर छैन। तर त्यो जिन्दगीलाई यो समाजका तन्नेरीहरूले कसरी हेर्छन् त्यो सम्झेरचाहिँ डर लाग्छ।’

र, उत्तरार्द्धमा मोडिएको उनको जिन्दगीको लडाईं पनि त्यही डरलाई जित्न हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *