खोप नलगाएकै कारण युरोपमा ५ लाखको मृत्यु हुनसक्ने

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै युरोप पुन: महामारीको केन्द्रबिन्दु बन्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।
डब्लुएचओको युरोप प्रमुख हान्स क्लुगाले फ्रेबुअरीसम्ममा युरोपमा ५ लाख बढी मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण गरेका छन्। उनले पूर्णरुपमा खोप नलगाएकै कारण यस्तो अवस्था आएको बताए।
उनले कोरोना महामारी नियन्त्रण गर्न र केन्द्र बन्नबाट बच्न विभिन्न खालका उपायहरु अपनाउनुपर्ने सुझाव दिए। युरोपेली मुलुकमा केही महिनादेखि खोप कार्यक्रम ढिला गरिएको छ। स्पेनमा ८० प्रतिशत नागरिकले पूर्णमात्रामा खोप लगाइसकेका छन् भने जर्मनीले ६६ प्रतिशत जनसंख्यामा खोप लगाएको छ। रसियामा भने जम्मा ३२ प्रतिशतले मात्र पूर्णखोप लगाएका छन्।
५३ देश रहेको युरोपमा जनस्वास्थ्यको मापदण्ड पालना नगरेकै कारण महामारी झन् फैलिएको क्लुगाले बताए। विगत चार हप्तामा ५५ प्रतिशत कोरोना संक्रमित बढेका छन्। यी मुलुक खोपको पहुँचमा भए पनि सबैलाई लगाइएको छैन।
जर्मनीमा एकै दिन ३७ हजार जनामा संक्रमण पुष्टि भएको छ भने १५४ जनाको मृत्यु भएको छ। त्यस्तै, कोरोनाका कारण रुसमा गत सातामात्र ८ हजार १०० जनाको मृत्यु भएको छ भने युक्रेनमा ३ हजार ८०० पुगेको छ। उक्त देशमा एकै दिन २७ हजार ३७७ नयाँ संक्रमित फेला परेका छन्।
युरोपका हरेक देशमा कोरोना संक्रमितको संख्या ह्वातै बढ्न थालेको छ। क्रोयसियामा दैनिक ६ हजार ३१० संक्रमित फेला पर्न थालेका छन् भने इटालीमा १६ प्रतिशतले संक्रमित बढ्न थालेका छन्।
त्यस्तै, बेलायतमा एकै दिन १५५ जनाको मृत्यु भएको छ भने केही दिनयता ३० हजार ६०० नयाँ संक्रमित फेला परेका छन्।
कोरोना संक्रमित बढ्दै जान थालेपछि बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले तेस्रो मात्रा (बुस्टर डोज) खोप लागाउन सुरु गरेको छ।
नेभेम्बर ६ सम्ममा ९६ लाख ५३ हजार ४१ ले बुस्टर डोज लगाएका छन्।
कोस्टारिकामा पाँच वर्षभन्दा माथिका बालबालिकालाई अनिवार्य खोप लगाउन त्यहाँको स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।