स्याङ्जामा थप २९ जनामा एचआइभी संक्रमण

हेल्थपोस्ट नेपाल

स्याङ्जा – स्याङ्जामा थप २९ जनामा एचआइभी संक्रमण देखिएको छ। गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआइभी संक्रमण देखिएको हो।

सबै संक्रमितले नियमित औषधि सेवन गर्दै आएका गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शंकर जिसीले जानकारी दिए। संक्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन्। गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ संक्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताए। एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन्।

‘हालसम्म १५ जनाले एचआइभी एड्सबाट ज्यान गुमाएका छन्’, उनले भने। एचआइभी संक्रमित विस्तारै खुल्न थालेको जिसी बताउँछन्। ‘पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ’, उनले भने। जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआइभीबाट संक्रमित भएका थिए। १७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन्।

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआइभी संक्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताए। ‘संक्रमितमध्ये १३३ जनाको गह्रौँ प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ’, उनले भने। १३४ संक्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *