यसरी मुक्ति पाउन सकिन्छ कब्जियतबाट

कब्जियत हुनु, पेट खराव हुनु, पेटमा ग्याँस बन्नु, पेट सफा नहुनु खास गरी आजको शहरी जीवनमा आमसमस्या भइसकेको छ। कब्जियत खासगरी दुई किसिमको हुन्छ—स्थायी र अस्थायी। स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ। अस्थायी कब्जियतचाहिँ केही सामान्य विचार पुर्‍याएमा हटाउन सकिन्छ। अनियमित खानपान, शारीरिक श्रमको कमी, भोजन नपच्नु, औषधिहरूको ज्यादा सेवन, पानी कम पिउनु आदि कब्जियतका प्रमुख कारण हुन्।

कब्जियतबाट मुक्ति पाउन खाना राम्रोसँग चपाएर खानुपर्छ। रेसादार खाद्यवस्तु खानामा समावेश हुनुपर्छ। चोकरयुक्त आँटाको रोटी खानु, प्रशस्त पानी पिउनु, समयमा दिसा त्याग गर्नु कब्जियतबाट बच्ने केही उपाय हुन्। रेशादार (फाइबर) तत्व भएका भोजनहरू पनि कब्जियत हटाउन लाभदायक छन्। यसबाट कुनै पोषक तत्व प्राप्त नभए पनि शरीरको आन्तरिक कार्य ठीकसँग गर्नका लागि यसको जरूरत हुन्छ। चोकरयुक्त आँटा, चिउरा, फलफूल, तरकारी, गेडागुडी, आदिमा रेसादार पदार्थ हुन्छ।

कब्जियतबाट हुने समस्या

भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाकवाक हुने, दिसा साह्रो भएर पाइल्स हुने आदि समस्या कब्जियतले ल्याउँछ। हाम्रो खानामा रेसादार पदार्थको सट्टा रेसा नभएको पदार्थ जस्तो–मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी प्रयोगले गर्दा कब्जियत हुन्छ। साथै हिँडडुलको कमीले गर्दा पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ। झोल पदार्थको नाममा आजकल कफि, कोकाकोला, फ्यान्टाजस्ता पदार्थहरू पिइन्छ। यस्ता वस्तुहरू पनि कब्जियतका लागि जिम्मेवार छन्। मध्यमवर्गीय परिवारको भोजनबाट रेसादार पदार्थ झण्डै–झण्डै हराइसकेको छ।

त्यसमाथि पनि बच्चाहरूको खानाबाट हरियो तरकारी, मकै, भटमास, गाजरजस्ता रेसादार पदार्थ भएका खानेकुरा हटेर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थको प्रयोग बढ्दै गएको छ। कब्जियत हटाउनका लागि दैनिक भोजन र खाजाबाट पनि यस्ता पदार्थहरू हटाएर विभिन्न किसिमका तरकारी, विशेष गरी बोक्रा सहितका तरकारीहरू जस्तो —गाजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, क्वाँटी आदि पदार्थको प्रयोग बढाउनु पर्छ। त्यसैगरी आँटा, मकै, कोदो, बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ।

रेसादार पदार्थ पाइने भोजन
मकै
गहुँ
बोक्रासहितको गेडागुडी –भटमास, दाल
अन्य–फापर, कोदो, चामल, बन्दा, गाजर र अन्य विभिन्न हरिया तरकारीहरू

एकै ठाउँमा बसिरहेर काम गर्ने जस्तो–कम्प्युटर इन्जिनियर, डाक्टर, अफिसमा कार्यरत व्यक्तिहरुको हिँडाइ र व्यायाम झण्डै शून्य हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा जान मोटरको सुविधा भएकाले हिँडाइ पनि धेरै कम हुँदै जान्छ। बालबालिकाहरू पनि खेलकुदभन्दा टिभीअगाडि बस्न बढी रुचाउँछन्। व्यायाम मुटुका लागि मात्र होइन, शरीरको आन्द्राको चालको लागि पनि चाहिन्छ। व्यायामले पाचन शक्ति बढाउन मद्दत गर्दछ। अन्य शारीरिक व्यायाम गर्न सकिँदैन भने हिँडाइ त जसले, जहाँ पनि गर्न सक्छ।

हरेक दिन २०–२५ मिनटको छिटोछिटो हिँडाइ एउटा राम्रो व्यायाम हो। यसले शरीरको तौल ठीक राख्नुको साथै कब्जियत हटाउन पनि मद्दत गर्छ। गर्भ रहेको बेलामा पनि केही महिलालाई कब्जियत हुन्छ। यो बेलामा शरीरभित्र पैदा हुने हर्मोनहरूको कारणले यस्तो हुन सक्छ। गर्भवती महिलाले विभिन्न कामका साथै नथाक्ने गरी २०–३० मिनेट हिँड्नु राम्रो हुन्छ। साथै भोजनमा रेसादार पदार्थ, हरियो तरकारी, मौसमी फलफूल पनि प्रयोग गर्नुपर्छ। गर्भवती महिलाले पर्याप्त मात्रामा पानी र झोल पदार्थ जस्तै–तरकारीको रस, दालको रस, मोही, दूध आदि प्रयोग गर्नुपर्छ।

विभिन्न कारणवश कतिपय व्यक्तिहरु विहान उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन्। कामको चाप, हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडन्छन्। दिसा लाग्दा लाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन्। यस्तो बानीले गर्दा पछि कब्जियत हुन जान्छ। विहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ।

बालबालिकाहरूलाई पनि विहान उठ्नेबित्तिकै दिसा गर्न जाने बानी बसाल्न लगाउनु पर्छ। यदि घरमा दिसा गर्न गएनन् भने स्कुलमा डरले शिक्षकलाई भन्न नसकी उनीहरू च्यापेर बस्छन्। यसले गर्दा कब्जियतको समस्या हुन्छ। जसको कारण जीवनभरको लागि स्वास्थ्य समस्या आउन सक्छ। खानेकुरा र व्यायामको अभाव मात्र होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ। चिन्ता र तनाव हटाउन ध्यान, योग, हिँडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ। मानसिक चिन्ता हटाउन आनन्दपूर्वकको हिँडाइ, दौडाइ र हँसाइ पनि एउटा राम्रो माध्यम हो। पेट मिचिमिची हाँस्दा आन्द्राहरूको मालिस हुन्छ।

कब्जियत हटाउनकोलागि विभिन्न विज्ञापनमा देखाइएका जुलाव चक्कीहरूको प्रयोग सकेसम्म नगर्नुहोस्। जुलावले एकचोटि त कब्जियतबाट आराम दिन्छ तर बारम्बारको प्रयोगले चाहिँ आन्द्रालाई तिनको बानी लाग्छ र कब्जियत झन् खराब हुन सक्छ।

केही औषधिहरुले पनि कब्जियत गराउन सक्छ। यस्तो बेलामा प्रायः औषधि दिने डाक्टरले त्यसको बारेमा भन्छन् र सकेसम्म बढी पानी पिउने र हरियो सागपात खाने सल्लाह दिन्छन्। कब्जियत गराउन सक्ने केही औषधि एन्टासिड, एलमोनियम, क्याल्सीयम, निद्रा लाग्ने औषधि, मानसिक रोगका लागि प्रयोग गरिने औषधि आदि हुन्।

दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरू बल निकालेर कन्छन्। यसले गर्दा गुदद्वारमा दवाव पर्न जान्छ र मलद्वारमा घाउ हुने हुन्छ। त्यसैले कन्नु सट्टा दैनिक जीवनको भोजन, व्यायाम आदिबाट नै कब्जियतबाट मुक्ति पाउनु उचित हुन्छ। कब्जियत हुनेले राती सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *