भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–विषाक्त मदिरा सेवनका कारण भारतको बिहारमा २४ जनाको मृत्यु भएको छ। बिहारको गोपालगन्ज जिल्लामा १६ जनाको र चम्पारणको बेतियामा ८ जनाको मृत्यु भएको हो। यद्यपि प्रशासनले मृत्युको कारण पुष्टि गरेको छैन।

विगत १० दिनमा उत्तरी बिहारमा भएको मृत्युको घटना यो तेस्रो हो। बिहारका मन्त्री जनक रामले नक्कली मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको पाइएको बताए। बिहीबारमात्र उपचारका क्रममा चार जनाको र अस्पताल लैजाने क्रममा दुई जनाको मृत्यु भएको थियो।

गोपालगन्जका प्रहरी प्रमुख आनन्दकुमारले दुई दिनमा जिल्लाको मोहम्मदपुर गाउँमा केहीमानिसको रहस्यमय परिस्थितिमा मृत्यु भएको उल्लेख गर्दै पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन कारण भन्न सकिने बताए।

उनले नक्कली मदिरा प्रकरणमा चार जनालाई पक्राउ गरिएको बताए। बिहारमा गत जनवरीयता नक्कली मदिरा सेवनका कारण ७० भन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौंले आँखा देख्नसमेत छाडेका छन्। बिहारमा २०१६ अप्रिलपछि मदिरा उत्पादन, बेचबिखन र सेवनमा प्रतिबन्ध छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *