युरोप पुनः कोभिड महामारीको केन्द्र बन्न सक्छः डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोप फेरि कोभिड महामारीको केन्द्र बन्ने चेतावनी दिएको छ। युरोपभर पुनः कोभिड बढ्न थालेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो।
डब्लुएचओको युरोप प्रमुख हान्स क्लगले आगामी फेब्रुअरीमा युरोपमा ५ लाख मानिसको मृत्यु हुने बताए। युरोपेली मुलुकमा यथेष्ट रुपमा खोप उपलब्ध नभएका कारण यस्तो स्थिति उत्पन्न हुने उनको भनाइ छ।
कोभिडको सामना गर्न सबैले आफ्ना रणनीति परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
केही महिनायता युरोपमा खोपको दरमा कमी आएको छ। स्पेनमा ८० प्रतिशत जनसंख्याले दुवै डोज लगाएका छन् भने फ्रान्स र जर्मनीमा दुवै डोज लगाउनेको संख्या क्रमशः ६८ र ६६ प्रतिशत छ। रुसमा भने अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशतले मात्र दुवै डोज लगाएका छन्।
क्लगले स्वास्थ्य मापदण्डमा ल्याइएको लचिलोपन पनि संक्रमण वृद्धिको कारण हुने बताए। डब्लुएचओका अनुसार युरोपमा हालसम्म १४ लाख मानिसको मृत्यु भइसकेको छ।