पुरुषलाई पनि हुन्छ रजोनिवृत्ति, लक्षण, कारण र उपचार

हेल्थपोस्ट नेपाल

रजोनिवृत्ति भन्नासाथै महिलामा मात्रै भन्ने प्राय बुझ्ने गरिन्छ। किनकि महिलामा प्राय ४५–५५ बर्षको उमेरमा महिनावारी सुक्ने हुन्छ र त्यसैलाई रजोनिवृत्ति भनेर सम्बोधन गरिन्छ। तर अब यो शब्द पुरुष जीवनसँग पनि जोडेर प्रयोगमा ल्याउने गरेको पाईन्छ।

महिलामा जस्तै पुरुषहरुमा पनि उमेर बढ्दै गएपछि जननग्रन्थि सँग सम्बन्धित हर्मोनको रक्तमा हुने स्तरमा फरक पर्दै आउँछ। जब पुरुष हर्मोनको रक्त संचारमा भएको मात्रामा भारी ह्रास आउँछ तब पुरुष रजोनिवृत्ति ( An andrpgen decline in the ageing male) भएको मानिन्छ। पुरुषमा पुरुष हर्मोन कम भएको अवस्था स्त्रीहरुमा रजोनिवृत्ति जस्तै भए पनि सजिलो सँग कुनै बाहिर देखिने एउटा विशेष लक्षण (महिनावारी सुकेको) बाट थाहा पाउन गाहे हुन्छ।

पछिल्लो समयमा पुरुषको बाँच्ने उमेर पनि बढ्दै गएको र बयोवृद्ध पुरुषको जमातनै समाजमा थपिदै गएको हुँदा पुरुष रजोनिवृत्ति पहिचान र उपचारलाई उचित स्थान स्वास्थ्य सेवामा दिनु पर्ने हुन्छ।

पुरुष रजोनिवृत्तिको पहिचानः
५० बर्ष नाघेका पुरुषमा यौन ईच्छा तथा यौन सक्षमताको लेखाजोखा गर्नु उपयुक्त हुन्छ। शुक्रकिट बनाउने अण्डकोषमा भएको तथा पुरुष हर्मोन उत्पादन गर्ने कोषहरुको संख्यामा समेत उमेरले ह्रास ल्याउने हुन्छ। त्यसको साथै ५० बर्षपछि पुरुष हर्मोनको रक्तसंचारमा र वीर्यमा शुक्रकिटको संख्यामा पनि फरक पर्दै जान्छ।

शुक्रकिटको संख्या वा गुणको अध्ययनबाट पुरुष रजोनिवृत्तिको निदान गर्नु भरपर्दो हुँदैन। तर, पुरुष हर्मोन टेस्टास्टेरोनको रक्तसंचारको जाँच बाट पुरुष रजोनिवृत्तिको अवस्था भए नभएको थाहा पाउन सकिन्छ । यो जाँच सबै प्रयोगशालामा सजिलै र भरपार्दो तरिकाले गर्न सकिने हुदैन। तर, पनि आधुनिक यन्त्र तथा रसायनिक प्रतिक्रियामा सहभागी हुने तत्वबाट सुसज्जित प्रयोगशालामा यो जाँच हुनेगर्दछ। त्यसले हर्मोनको जाँच खर्चिलो पर्न आउँछ। बिना हर्मोन परिक्षण पुरुषको शरीरमा पुरुष हर्मोनको अबस्था थाहा पाउन त्यति सजिलो नभए पनि बिभिन्न अध्ययनबाट घुमाउरो रुपमा शरीरमा हर्मोन कम वा बढी भएको आंकलन गर्न सकिन्छ।

लक्षणहरु
सर्वप्रथम अण्डकोषहरुको परिणाम कम हँुदै वा सुक्दै जान्छ। खास गरी अण्डकोष नरम भएर यस्ता पुरुषको यौन ईच्छामा कमि आएर यौन क्षमता ह्रास आए पुरुष रजोनिवृत्तिको लक्षण देखापरेको आंकलन गर्न सकिन्छ। यौन ईच्छामा कमी हुनुका साथै लिङ्गमा शिथिलता देखा परे पुरुष रजोनिवृत्ति बारे सोच्नु पर्दछ। आलस्यता, मनको खिन्नता, बिनाखासै कारण झर्को लाग्नु र रिस उठनु, कुनै कुरामापनि जागर नउब्जनु, स्मरण शक्तिमा कमि आउनु, शरिरमा मांशपेसी सुक्न र कमजोर हुनु पुरुष हर्मोन कमिका लक्षण हुन सक्दछन्। त्यस्तै हड्डी पातलिने र तौलमा घट्दै जाने, शरिरमा बोसोको मात्रा बढ्ने, राता रक्तकोषहरुको संख्यामा कमि हुने तथा निन्द्रामा गडबढ , बेचैन हुने र समुचामा भन्दा ओजपुर्ण र गुणात्मक जीवनको पुरुष कमि अनुभव गर्दछन्

। कुनै पुरुष एक्कासी खलखल्ती पसिना आएको अनुभव गर्दछन् र शरिरको बिभिन्न भाग आगो जस्तै तातो वा पोल्ने भएको महसुुुस गर्दछन्। सबेरै उठ्दा पिसाबले ज्यादै च्यापेको अनुभव गर्दा पनि लिङ्ग उत्तेजीत वा भरीएको पाउदैनन्। यस्ता बिभिन्न लक्षणले पुरुष ज्यादै खिन्न र नैराश्य हुन्नछन्।

पुरुष हर्मोन कमिको अभावले देखा पर्नसक्ने थुप्रै लक्षण भएपनि थकावट, यौनईच्छा तथा शक्तिमा कमि र बिनाकारण उदासिनता तथा बेचैनीलाई ज्यादै ठुलो महत्व दिने गरिन्छ। यो सँगै अण्डकोष सुक्ने तथा नरम हुने, शरिरमा हड्डी पातलिँदै जाने र भित्रि अंगमा बोसो थुप्रिदै जाने प्रायजसो देखापर्ने गर्दछ ।

पुरुष रजोनिवृत्तिको उपचारः
पुरुष हर्मोनको कमिले गर्दा बिभिन्न लक्षण देखापर्ने हुँदा सर्बप्रथम जीवनशैलीमा फरक ल्याएर नै जीवनलाई ओजपूर्ण तथा गुणात्मक दृष्टिले राम्रो पार्न कोशिस गर्नु पर्दछ। त्यसको निम्ती सन्तुलित आहार शारीरिक ब्यायाम र सबल तथा पोजेटिभ सोचलाई अपनाउनु पर्दछ।

यसले पुरुषलाई आफ्नो शरिरको मोटोपन घटाउन हड्डीलाई बढि बिग्रन नदिन र जीवनलाई सार्थक र रमाईलो अबसर सम्झन मद्यत पुर्‍याउँछ। यो बाहेक बिभिन्न परिक्षण पछि पुरुष हर्मोनको प्रयोग नगरी नहुने देखा परे त्यसलाई अपनाएर तथा कथित पुरुष रजोनिवृत्तिका बिभिन्न लक्षणबाट धेरै हद सम्म छुटकारा पाउन सकिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *