जलवायु सम्मेलनमा प्रधानमन्त्री देउवा : ‘महत्वाकांक्षी लक्ष्य’ सुनाउनेदेखि, राष्ट्रप्रमुखहरूसँग भेटघाट

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, सामुद्रिक क्षेत्रमा नेपालीलाई रोजगारीको माग

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि स्कटल्याण्डको ग्लास्गो सहरमा छन्। जलवायु परिवर्तनले विश्वमा चुलिइरहेको संकटका बारेमा विश्वका १२० भन्दा धेरै राष्ट्र प्रमुखहरू यो सम्मेलनमा भेला भएर बहस गरिरहेका छन्।

जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि आफ्नो राष्ट्रले के के गर्छ भन्ने दीर्घकालीन र तत्कालीन योजनाहरू राष्ट्रप्रमुखहरूले सुनाइरहेका छन्।

‘कोप-२६’को नामले पनि चिनिने यो सम्मेलन विश्व जलवायुका लागि निकै महत्वपूर्ण एउटा विश्वस्तरीय सम्मेलन हो। यो सम्मेलनमा जलवायु परिवर्तनका मुख्य कारक बनेका अमेरिका, युरोपियन युनियन तथा भारतलगायत विश्वका सबै राष्ट्रहरू सहभागी छन्। तर रूस र चीनका राष्ट्रप्रमुखहरू भने सम्मेलनमा सहभागी भएनन्। बरू उनीहरूले यो सम्मेलनलाई भर्चुअल सम्बोधन गरे।

चीन र रूसको यो कदमलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले उनीहरूको सबैभन्दा ‘ठूलो गल्ती’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री देउवाले ग्लास्गोमा के गरिरहेका छन्?

निकै आकर्षक नदीहरूले घेरिएको ग्लास्गो स्कटल्याण्डको ठूलो सहर हो। विश्वकै एउटा कलात्मक सहरमध्य यो पनि एक सहर हो।

प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक देश छोडेर यो सहर पुगेका हुन्। यो सम्मेलन आफैमा एउटा महत्वपूर्ण ‘मञ्च’ त हो नै सँगै प्रधानमन्त्री देउवाका लागि यो सम्मेलन विश्वका सबैजसो नेताहरूमाझ आफूलाई उभ्याउने एउटा ठूलो ‘प्लेटफर्म’ बन्यो।

यो सम्मेलनमा नेपालको बारेमा कुरा राख्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सन्दर्भमा निकै ‘गहन’ र ‘महत्वाकांक्षी’ योजनाहरू पनि सुनाए।

आगामी सन् २०४५ सम्ममा नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने देउवाले सुनाएको लक्ष्य नेपालका लागि निकै महत्वाकांक्षी हो। जब कि छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यही लक्ष्यलाई सन् २०७०सम्ममा भेटाइसक्ने बताएका छन्। मोदीले त्यो सम्मेलनमा सुनाएको यो लक्ष्य त्यही सम्मेलनले तोकेको सीमा भन्दा कम्तीमा २० वर्षपछि हो। जब कि कोप-२६ले २०५०सम्म कार्बन उत्सर्जन शून्यमा झार्न सिफारिस गरेको छ।

मोदीको यो प्रतिवद्धता कार्बन ‘नेट जीरो’का सन्दर्भमा भारतले जनाएको पहिलो प्रतिवद्धता हो। यद्यपि मोदीको यो लक्ष्य निकै विलम्ब हुने भन्दै त्यो सम्मेलनमा उपस्थित नेताहरूले त्यसको आलोचना त गरेका छन्। तर भारतीयले भने मोदीको प्रशंसा गरेका छन्। ‘देशको आर्थिक व्यवस्थालाई नखबल्याइ भेटिने लक्ष्य प्रस्तुत गरेको’ भन्दै भारतमा भने मोदीको प्रशंसा भइरहेको छ।

नेपालले स्वच्छ नवीककरणीय उर्जाको प्रयोगलाई १५ प्रतिशतसम्म पुर्‌याउने लक्ष्य पनि विश्वसामु सुनाएको छ। साथै देउवाले बनको कूल हिस्सा ४५ प्रतिशत पुर्‌याउने उदेश्य पनि सुनाएका छन्। यो सम्मेलनमा जब कि २०३०सम्ममा बन विनाश रोक्नका लागि १०० भन्दा धेरै देशले एउटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। नेपाल पनि एउटा हस्ताक्षरकर्ता हो।

प्रधानमन्त्री देउवाले पग्लिरहेका हिउँ चुचुराहरू विश्वकै लागि भयंकर संकट हुनसक्ने भन्दै सारा विश्वका नेताहरूको ध्यान पनि आकृष्ट गरेका छन्। र, उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्नका लागि ‘अनुकूलन’का मात्रै नभइ अरू कार्यक्रमहरूमार्फत त्यसको क्षतिपूर्ति हुनुपर्ने मागलाई पनि जोडदार रूपमा उठाए।

धेरै कार्बन र मिथेन ग्यास उत्पादन गरेर पर्यावरणलाई क्षति पुर्‌याइरहेका धनी देशहरूले गरिब देशलाई उपलब्ध गराउने अनुदान र सहयोगहरू नै त्यस्तो क्षतिपूर्ति हो।

विश्वका नेताहरूसँग भेटवार्ता

प्रधानमन्त्री देउवाले यो सम्मेलनमा विश्वका धेरै राष्ट्र प्रमुखहरूलाई भेटेका छन्। कसैसँग सामूहिक र कसैसँग एक्लाएक्लै पनि भेटे।

छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले एक्लाएक्लै भेटघाट गरेका छन्। ‘साइडलाइन’ भेटवार्ता भनिने यो कुराकानीका क्रममा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए।

भेटका क्रममा देउवाले रासायनिक मलको आयातमा सहज बनाइदिन मोदीलाई आग्रह गरेका थिए। त्यस्तै देउवाले मोदीलाई नेपालगन्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेशको स्वीकृतिका पनि अनुरोध गरेका थिए।

त्यस क्रममा मोदीले नेपालका आवश्यकताहरूमा भारत जहिले पनि सकारात्मक हुने बताएका थिए। प्रधानमन्त्री देउवाका अनुसार मोदीले निम्तो स्विकार्दै चाँडै नै नेपाल आउने बचन पनि दिएका छन्।

 

छिमेकी समकक्षीसँग देउवाको यो पहिलो भेट हो। तर उनले तेस्रो देशमा मोदीलाई भेटेका हुन्।

त्यही सम्मेलनमा देउवा र श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्षेबीच भेटवार्ता भएको छ। यो भेटमा दुई देशबीच शैक्षिक सहयोगदेखि लुम्बिनीमा अस्पताल निर्माणको बारेमा पनि कुराकानी भएको थियो। राजापाक्षेले श्रीलङ्काले लुम्बिनीमा ३० सैय्याको अस्पताल बनाउने योजना सुनाएका थिए। त्यसका लागि आवश्यक सहयोग र समन्वय हुने देउवाले बचन दिएका थिए।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि देउवाले संक्षिप्त छलफल गरेका छन्। जोन्सनसँगले आफैले आयोजना गरेको एउटा छलफल कार्यक्रममा देउवाले उनलाई भेटेका हुन्।त्यसक्रममा बन संरक्षणका विषयमा कुराकानी भएको थियो। जोन्सनले नेपालले बन संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा गरेका थिए।यही मञ्चमा देउवाले विश्वबैंकका कार्यकारी निर्देशक मेरि पेंगुगेस्टुसँग पनि भेट गरेका छन्। विश्वबैंक नेपालको एउटा प्रमुख विकास साझेदार निकाय हो।

यो भेटका क्रममा निर्देशक मेरिले नेपाललाई ‘हरित विकास’का लागि तत्कालै सहयोग दिने बाचा गरेका छन्।

देउवाले यो बीचमा सामुद्रिक क्षेत्रमा काम गर्ने संस्था ‘इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव किट्याक लेमसँग पनि कुराकानी गरे। सामुद्रिक क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिन आग्रह गरेका थिए। महासचिव लेमले इन्टरनेशनल मेरीटानी यूनिभर्सिटी स्वीडेन तथा इन्टनेशनल मेरिटानी इन्स्टिच्यूट, माल्टामा नेपाली विद्यार्थीलाई छात्रवृतिको अवसर दिने बाचा गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *