आज धन्वन्तरी जयन्ती, आयुर्वेदका प्रवर्तकको सम्झना

हेल्थपोस्ट नेपाल

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

चिकित्सापद्धतिका प्रवर्तक देवका रूपमा पुजिने धन्वन्तरीको उत्पत्ति दिनका रूपमा प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीका दिन धन्वन्तरी दिवस मनाइँदै आइएको छ। यसै दिनलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ। देशभरका आयुर्वेदकर्मी र त्यसका अनुशरणकर्ता यतिवेला धन्वन्तरी जयन्ती मनाइरहेका छन्।

धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन्। आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन्। नेपालमा वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। धन्वन्तरी जयन्तीकै दिनलाई ०५६ सालदेखि आयुर्वेदकर्मी तथा अनुसरणकर्ताले राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउँदै आएका छन्।

आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन्। पछिल्लो समय नसर्ने रोग चिकित्साविज्ञानका लागि प्रमुख चुनौती बनेसँगै नेपाल र भारतमा मात्र नभएर समग्र विश्वमै योग तथा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए।

हालैको स्वास्थ्य सर्वेक्षणअनुसार मृत्युको प्रमुख कारणमा हृदयरोग, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मिर्गौलारोग, क्यान्सरजस्ता नसर्ने रोग छन्। यसको नियन्त्रण व्यक्ति र समाजको जीवनशैलीमा स्वस्थकर परिवर्तनबाट मात्र सम्भव रहेको डा. उपाध्याय बताउँछन्।

योग तथा आयुर्वेद चिकित्सापद्धतिको व्यावहारिक अनुसरण नै नसर्ने रोगबाट बच्ने सर्वोतम उपाय भएको समग्र विश्वले स्वीकारिसकेको छ। यस्तोमा नेपाल सरकार र सरोकारवाला पक्षहरूले नसर्ने रोगको रोकथाम र उपचारका निमित्त आयुर्वेद र अन्य उपचार पद्धितलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएका छन्।

धन्वन्तरी जयन्तीका अवसरमा आज बिहानैदेखि देशका विभिन्न स्थानमा आयोग्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिँदैछन्।

नरदेवी क्याम्पस, सिंहदरबार वैद्यखाना तथा सामाखुसीस्थित धन्वन्तरी अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरी आयुर्वेदको महत्त्व जनमानसमा पुर्याउने कोसिस गरिने डा. उपाध्ययले बताए।

स्वस्थ्य जीवनशैलीको माध्यमबाट आरोग्य, आत्मविश्वास र वौद्धिक मनोवल वृद्दि गर्न सकिन्छ,’ उनले भने, ‘आयुर्वेद जस्तो मौलिक चिकित्सा विधिको स्वतःस्फूर्त प्रयोगको माध्यमबाट असल राष्ट्रिय भावनालाई दिगो रुपमा जागृत गराई स्वास्थ्यको माध्यमबाट समग्र राष्ट्र निमार्णमा टेवा पुर्याउन सकिन्छ।’

उनले नागरिक आरोग्य कार्यक्रम २१८ स्थानमा सुरु भइसकेको र थप ८१ ठाउँमा लागू हुन लागेको जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *