मेयरको घरअगाडि जनप्रनितिधिले फोहोर थुपारेपछि…

हेल्थपोस्ट नेपाल

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले मेयर लालकिशोर साहको घरअगाडि फोहोर थुपारेका छन्। उपमहानगरको फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै जनप्रतिनिधिहरूले मेयर साहको घरअगाडि फोहोर थुपारेका हुन्।

दीपावली र छठ पर्व नजिकिँदै गर्दा पनि फोहोर व्यवस्थापनका लागि उपमहानगरले चासो नदिँदा स्थानीयवासी आक्रोशित बनेपछि जनप्रतिनिधिहरूले मेयरकै घर सामुन्ने फोहोर थुपारेका छन्।

 

वडा नम्बर १ का वडाध्यक्ष शत्रुध्न साह, वडा नम्बर ३ का वडाअध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले वडा नम्बर ४ स्थित मेयर साहको घरअगाडि फोहोर थुपारेर विरोध गरेका हुन्।

ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर नगरप्रमुखको घरअगाडि फोहोर थुपारेका थिए। विरोधस्वरूप उपमहानगर कार्यालयअगाडि फोहोर फ्याल्न गएपछि प्रहरीले अवरोध गरेको थियो।

फोहोर व्यवस्थापनका लागि नगर प्रमुखले चासो नदिएको, वडाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर उपलब्ध नगराएको विरोधस्वरूप उनको घर अगाडि नै फोहोर थुपार्नुपरेको वडा नम्बर ४ का वडाध्यक्ष सिंहले बताए।

जनप्रतिनिधिहरूले मेयर साहको घरअगाडि फोहोर थुपारेपछि उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख मेहीलाल यादवले तीन दिनभित्र फोहोरको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रत्येक वडामा थप १/१ ट्याक्टरका साथै सरसफाइका लागि १५/१५ जना सफाइ कर्मचारी पठाइने यादवले प्रतिवद्धता जनाएको वडाध्यक्ष सिंहले बताए।

‘फोहोर व्यवस्थापनका लागि उपमहानगरले चासो दिएको छैन। चाडवाडका बेला मेयर आफैं काठमाडौंमा हुनुहुन्छ,’ सिंहले भने,‘निमित्त कार्यकारी अधिकृतले तीन दिनभित्र समस्या समाधान गरिने बताउनु भएको छ। तीन दिनभित्र समस्या समाधान नभए फेरि मेयरको घर अगाडि फोहोर थुपारिन्छ।’

२५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरले ल्यान्ड फिल साइट निर्माण गर्न नसक्दा त्यहाँ फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा देखिएको छ। एकीकृत सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) ले ल्यान्ड फिल साइट निर्माण गर्न रकम उपलब्ध गराए पनि उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *