यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो।

पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो। सर्वसाधारण घर बाहिर निस्किएका थिएनन्। सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए। प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल छन्। भारततिरका स्थानीय तथा पर्यटक त्यही आँखीझ्यालबाट भुटान चिहाउने गर्छन्।

फुन्चोलिङको यो चकमन्नता कोभिड–१९ को महामारीको प्रभाव शून्यमा झार्न भुटान कठोरतापूर्वक कसरी जुधिरहेको छ भन्ने दर्शाउन पर्याप्त छ। आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा निकै ध्यान दिँदै आएको भुटानी सरकारले भुटानभित्र आन्तरिक आवतजावतमा मात्र नभएर बाह्य मुलुकसँगको सम्पर्कमा कडाइ गरेको छ।

भारतसँगको सीमा लगातार बन्द गर्दा फुन्चोलिङ नाका यसरी नै लामो अवधिदेखि सुनसान छ। दुई दिनअघि काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका हुँदै भुटान सीमा पुग्दा बाटामा रहेको सिलिगुढी, जलपाइगुढी, मालबजार, वीरपाडालगायतका सहर फुन्चोलिङजस्तो सुनसान थिएनन्।

फुन्चोलिङसँगै टाँसिएको सीमान्त सहर जयगाउँ भीडभाडयुक्त थियो। मास्क लगाएका र नलगाएका सर्वसाधारण बराबरी थिए। बजारमा तिहारको किनमेल सुरु भइसकेको थियो। जयगाउँ छिचोलेर ‘फुन्चोलिङ गेट’ पुग्दा भुटानतिर ठिकविपरीत दृश्य देखिएको थियो।

सुरक्षाकर्मीको बाक्लो पहरा थियो। मास्क लगाएर उभिएका सुरक्षाकर्मी सीमामा रहेको मितेरी गेटमा ताला लगाएर उभिएका थिए। भुटान जान चाहने केही भारतीयहरु पिठ्युमा बडेमानका झोला बोकेर फलामे गेट बाहिरबाट भुटानी सुरक्षाकर्मीहरुसँग कुराकानी गरिरहेका थिए।

फुन्चोलिङ सीमावर्ती जयगाउँभन्दा जनसङ्ख्याको हिसाबले धेरै गुणा ठूलो सहर हो। फुन्चोलिङका होटल, पसल, सरकारी कार्यालय र यातायात कोभिडको महामारी सुरुआत भएयता खुलेकै छैनन्।

यस्तो लाग्थ्यो, अझै त्यहाँ कडा बन्दाबन्दी छ कफ्र्युजस्तै। स्थानीयवासीसँग बुझ्दा फुन्चोलिङ भुटानको मुख्य व्यापारिक सहर भएकाले विगतमा यहाँ आवतजावत बाक्लो हुने गथ्यो।

भुटानका लागि चाहिने पेट्रोलियम पदार्थमा आधारित इन्धन र खाद्य सामग्री यही नाका भएर भुटानभर पुग्ने गरेको छ तर कोभिड–१९ को महामारीपछि भुटानले सीमाको सिलबन्दी खुला गरेको छैन। भारत र भुटानका बासिन्दालाई एकअर्काका देशमा आउजाउ गर्न नेपाल र भारतमा जस्तै प्रवेशाज्ञा चाहिदैन तर भुटानले सङ्क्रमणबाट देशलाई जोगाउन भारतका नागरिकलाई समेत प्रवेश दिएको छैन।

भुटानको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार भुटानमा हालसम्म दुईहजार ७२० सङ्क्रमित भएका छन्। तीमध्ये दुई ६१० निको भएर घर फर्किसकेका छन् भने मात्र सात अहिले सक्रिय सङ्क्रमित अवस्थामा छन्। यहाँको मृत्युदर विश्वकै अति कम मानिन्छ। मात्र तीनले कोरोनाका कारण ज्यान गुमाउनुपरेको भुटानको आधिकारिक सरकारी समाचार संस्था क्वीनसेलले जनाएको छ।

भुटानको जनसङ्ख्या सात लाख ८३ हजार रहेको छ भने फुन्चोलिङ सहरमा १७ हजारको बसोबास भएको मानिन्छ। राजधानी थिम्पुमा ९९ हजार, पुनाखामा २१ हजार ५०० र चिराङमा १९ हजार जनसङ्ख्या छ। पारो र थिम्पुमा हवाई सेवाका लागि विमानस्थल छन्।

थोरै जनसङ्ख्या, पातलो बस्ती, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ र कोरोनाविरुद्धको खोपमा सफलताका कारण भुटानले महामारीलाई सजिलै परास्त गर्न सकेको मानिन्छ। कूल जनसङ्ख्याको ६७ प्रतिशत (कम्तीमा पाँच लाख १७ हजार)ले कोरोनाविरुद्धको पूर्णखोप र ७६ प्रतिशत (कम्तीमा पाँच लाख ८६ हजार)ले एक डोज खोप लगाइसकेको भुटानको स्वास्थ्य मन्त्रालयको दाबी छ।

यो पङ्तिकार भुटानी प्रतिनिधिमण्डलको समेत सहभागिता रहने पर्यटन प्रवर्द्धनसम्बन्धी एउटा अन्तरदेशीय बैठकका लागि भुटान सीमासम्म गएको हो। तर सीमाको कडाइका कारण भुटानी प्रतिनिधिमण्डल बैठकमा आउन सकेन। भुटानीहरुलाई बाह्य मुलुकका नागरिकसँग भेटघाट गर्दा कोरोना भित्रिन्छ भन्ने त्रास बाँकी नै रहेछ।

काठमाडौँको सिंहदरबार प्रवेशद्वारजस्तै थियो फुन्चोलिङ प्रवेशद्वार। ड्रागन चित्र अङ्कित यो प्रवेशद्वार कलात्मक छ। सबैको जिज्ञासा छ– त्यहाँ लगाइएको ताला कहिले खुल्ला रु सीमामा तैनाथ एक भुटानी सुरक्षाकर्मीले यो प्रश्नको उत्तर दिन चाहेनन्। तर सीमामै तैनाथ भारतीय भन्सार अधिकारीहरुले तिहारपछि आगामी मङ्सिर ७ गतेसम्ममा भुटानले सीमा खुला गर्ने सम्भावना व्यक्त गरे।

भुटान नेपालजस्तै पहाडी मुलुक हो। नेपालमा तराई भूभाग १७ प्रतिशत छ। तर भुटानमा तराई छैन। भुटानको दक्षिणी क्षेत्रमा नेपाली भाषीहरुको बाक्लो बसोबास छँदैछ। त्यसैगरी भारतको पश्चिम बङ्गाल र आसामसँग भुटानको सीमा जोडिएको छ। यहाँ नेपाली भाषीको बाहुल्य नै छ।

भुटानसँग भारतको खुला सीमा भएको हुँदा खोला, जङ्गल र बस्तीले धेरै स्थान जोडिएका छन्। अलिपुरद्वार जिल्लाको मदारीहाट निवासी किरण उपाध्यायले सीमामा बसोबास गर्ने भेपालीभाषी भारतीयहरुले भुटानी बस्तीमा बिहेबारीको सम्बन्धसमेत गाँस्ने गरेको सुनाए।

उनका अनुसार भारतका नेपालीहरु घुमघाम र नातागोता भेटघाटका लागि भुटानतिर जाने गर्छन्। साम्ची, फुन्चोलिङ, गम्टु, पग्ली लगायतका गाउँमा बढी ओहोरदोहोर हुने गरेको उपाध्यायले बताए। यसलाई उनले भुटानसँगको रोटीबेटीको सम्बन्धको सङ्ज्ञा दिए।

कोभिड–१९ को महामारीपछि आउजाउ ठप्प रहेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ। भारतमा नेपालीभाषीहरुले आफूलाई गोर्खा र नेपाली दुवै पहिचानले चिनाउने गरेका छन्। भुटान होस् या भारत, नेपाली भाषीहरुले आफ्नो संस्कृति, परम्परा, पहिरन, खानपान र संस्कारको भने बहुतै जगेर्ना गर्दै आएको पाइन्छ।

दसैँ, तिहारजस्ता ठूला पर्वमा भुटानभित्र समेत नेपालकै झल्को दिने रौनक आउने गरेको सीमावर्ती बासिन्दा बताउँछन्। तिहारमा भाइटीका लगाउने, देउसी भैली खेल्ने र सेल रोटी पकाएर खान यहाँका नेपाली रुचि राख्छन्। इतिहास खोतल्दा भारतको डुवर्स क्षेत्र कुनै बेला भुटानको अधिनस्थ रहेको देखिन्छ।

भुटानबाट समथर क्षेत्र भारततिर आवतजावत गर्ने १८ वटा ढोका ९गौडा०हरु रहेको र ब्रिटिशहरुले त्यसैलाई प्रचलित गराउँदै डुवर्स नामाकरण गरेको बताइन्छ। इतिहासकार सेलेन देवनाथले आफ्नो पुस्तक ‘द डुवर्स इन हिस्टोरिकल ट्रान्जिसन’मा उल्लेख गरे अनुसार मध्ययुगमा डुवर्स इलाकामा कामतापुरी राज्य थियो।

भुटानले कुनै बेला आक्रमण गरी कामतापुरलाई आफूमा अधिनस्थ गराएको थियो। पछि सन् १८६५ मा भएको युद्धमा पराजित भएपछि भुटानले ब्रिटिश सत्तालाई डुवर्स क्षेत्र सुम्पिएको मानिन्छ। अङ्ग्रेज शासनको अन्त्यपछि भारतले यस क्षेत्रलाई भारतमा विलय भएको घोषणा गरेको थियो।

डुवर्स र भुटानबीच परापूर्वकालदेखि निकट सांस्कृतिक सम्बन्ध रहेको मानिन्छ। यो सम्बन्धलाई अकरिलो परिस्थिति व्यहोरेर भए तापनि नेपाली भाषीले अहिलेसम्म धान्दै आएका छन्। डुवर्स र दक्षिण भुटानको जङ्गललाई फडानी गरेर मानव बस्ती बसाउने भूमिकाका लागि नेपाली भाषीको योगदानलाई भारत र भुटान दुवैतिर स्वीकार गरिँदै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *