कोरोना भाइरसको उत्पत्तिबारे कहिल्यै थाहा नहुन पनि सक्ने अमेरिकी निष्कर्ष

हेल्थपोस्ट नेपाल

अमेरिकी गुप्तचर निकायहरूले कोभिड-१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन्।

ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन्।

अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ। तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाणहरू नभएको बताइएको छ।

चीनले सो प्रतिवेदनको आलोचना गरेको छ।

गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०-दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन्।

समीक्षामा गुप्तचर समुदाय भाइरसको उत्पत्तिका सम्बन्धमा विभाजित रहेको पनि उल्लेख छ।

चार गुप्तचर निकायले यो सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा ‘कम विश्वस्त’ रहेको बताएका छन् भने एउटा निकायले पहिलो मानव सङ्क्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट भएको हुन सक्नेमा ‘हल्का विश्वस्त’ रहेको बताएको छ।

सो दुर्घटना वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षणको बेला घटेको हुनसक्ने अनुमान सो निकायले गरेको छ।

प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड-१९ को सङ्क्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई कोरोनाभाइरसबारे जानकारी नभएको बताइएको छ।

तर प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्‍याएको पनि लेखिएको छ।

चिनियाँ अधिकारीहरूले कोभिडको सङ्क्रमणलाई वुहानको समुद्री खाद्य बजारसँग जोड्ने गरेका छन् जसका कारण वैज्ञानिकहरू कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताउँछन्।

तर यो वर्षको सुरुमा अमेरिकी सञ्चारमाध्यमहरूले वुहानको प्रयोगशालाबाट दुर्घटनावश भाइरस फैलिएको हुन सक्ने विवरण प्रकाशित गरेका थिए। चीनले यो कुरा अस्वीकार गर्ने गरेको छ।

गत मे महिनामा बाइडनले गुप्तचर अधिकारीहरूलाई भाइरसको उत्पत्तिको अनुसन्धान गर्न आदेश दिएका थिए।

परीक्षणमा रहेको खाने चक्कीले ‘कोभिड अस्पताल भर्ना दरको जोखिम आधा घटाउने’

खोप लगाउँदा वा कोभिड हुँदा स्नायुसम्बन्धी दुर्लभ समस्या ‘बढ्ने जोखिम’ कति

वाशिङटनस्थित चिनियाँ राजदूतावासले रोयटर्स समाचार संस्थालाई प्रतिवेदनबारे दिएको प्रतिक्रिया यस्तो छ: “भाइरसको उत्पत्तिको विषयमा अमेरिकाले वैज्ञानिकहरूलाई भन्दा गुप्तचरी संयन्त्रलाई गरेको विश्वास एउटा राजनीतिक तमासा हो।”

“हामीले उत्पत्तिका विषयमा विज्ञानमा आधारित अनुसन्धानलाई सहयोग गरिरहेका छौँ र त्यस्तो गरिरहने छौँ। तर हामी यो विषयलाई राजनीतिकरण गर्ने कुराको विरोध गर्छौँ।”

विश्वभर २४ करोड मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४९ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *