नेपाल मेडिकल काउन्सिलले गर्‍यो २० चिकित्सकलाई कारबाही, ५७ जनाविरुद्द उजुरी

हेल्थपोस्ट नेपाल

बिरामीको उपचारमा त्रुटी गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलको २०७७ साउन ४ को निर्णयले मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीलाई कारबाही गर्‍यो।

नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा त्रुटी देखिएकाेले काउन्सिलले मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीलाई कारबाही गरेको हो।

नेपाली सेनाको अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा कार्यरत डा. खत्रीलाई १ वर्षसम्म मुटु रोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय काउन्सिलले गरेको छ।

त्यस्तै, डा ज्ञानेश्वरप्रसाद (जिपी) सिंहको उपचारका क्रममा त्रुटी र कमजोरी भेटिएपछि नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न युनिभर्सल मेडिकल कलेजका चिकित्सकलाई कारबाही गर्‍यो।

काउन्सिलले उपचारमा संलग्न रहेका एक चिकित्सकलाई एक वर्षका लागि इसोफेजियल इन्डोस्कोपी गर्न नपाउने र सो विषयको तालिम लिई त्यसको प्रमाण काउन्सिलमा पेस गरेपछि मात्र इसोफेजियल इन्डोस्कोपीको प्रक्रिया गर्न पाउने निर्णय गरेको छ।

‘बिरामीको उपचारका क्रममा सुरुको अवस्थादेखि नै संलग्न भएको र बिरामीको उपचारमा तपाईंबाट त्रुटी, कमजोरी भएको व्यहोरा विज्ञ टोलीले प्रतिवेदनमा समेत उल्लेख गरिएको परिप्रेक्ष्यमा तपाईंबाट व्यक्त स्पष्टीकरणमा पुष्टि हुने गरी यथेष्ट प्रमाणहरु संलग्न हुन नसकेको पत्रमा उल्लेख छ,‘काउन्सिलको पूर्ण बैठकमा निर्णय भए बमोजिम सचेत गराउँदै एक वर्षका लागि इसोफेजिएल इन्डोस्कोपी नगर्न र सो विषयको तालिम लिई काउन्सिलमा पेस गर्ने निर्णय भएको छ।’

यो त प्रतिनिधि घटना मात्रै हाे। नेपाल मेडिकल काउसिन्लले २०७७ साउनदेखि २०७८ असोजसम्म परेका ५७ उजुरी परेका छन्। जसमध्ये २० जना चिकित्सकले गरेकाे उपचारमा त्रुटी देखिएकाले काउसिन्लले कारबाही गरेको छ।

काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ३१ केसहरु छन्।

‘सबै चिकित्सकको उपचार सम्बन्धि काउसिन्लमा उजुरी परेका आधारमा २० चिकित्सकलाई कारबाही गरिएको छ,’ डा. अधिकारीले भने, ‘छानबिनको क्रममा ३१ केस बाँकी छन्।’

उजुरी परेका ६ केसहरु काउसिन्लले तामेलीमा राखेको छ। अर्थात, काउसिन्लको मातहतभित्र ती केसहरु पर्दैनन्।

उनका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटीका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ।

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएकाे, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र बिरामी नहेरीकनै मानसिक समस्या भएको भन्दै गलत रिपोर्ट दिने गरेकाे तथ्यका आधारमा काउन्सिलले यसभन्दा अघि धेरै चिकित्सकमाथि कारबाही गरिसकेको छ।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ती घट्नुपर्ने हो । यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घट्दै गएकाे देखिन्छ। जसका कारण अस्पताल ताेडफाेडदेखि चिकित्सकमाथि आक्रमणले याे कुराकाे पुष्टि गर्दछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *