कोरोना खोपसम्बन्धी अध्ययनले देखायो दुर्लभ स्नायुरोग

कोभिड-१९ विरुद्ध खोप लगाएपछि स्नायुसम्बन्धी दुर्लभ समस्या उत्पन्न हुनसक्ने अनि त्यस्तो जोखिम कोभिड हुने व्यक्तिमा निकै बढी हुने नयाँ अनुसन्धानले जनाएको छ।

कोभिड खोपले स्नायुप्रणालीमा पार्ने प्रभावबारे यूकेमा अध्ययन भएको थियो। चिकित्सकहरूले सो अध्ययनबाट खोप लगाउँदा मानिसको समग्र स्वास्थ्यमा उत्कृष्ट सुरक्षा पुग्ने थप सुनिश्चित भएको देखिएको बताएका छन्।

कोभिड खोपका कारण परेका दुर्लभ दुष्प्रभाव पत्ता लगाउन अनुसन्धानकर्ताहरूले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसबाट इङ्ग्ल्यान्डका ३.२ करोड वयस्कका विवरणहरू केलाएका थिए।

उनीहरूको शोध ख्यातिप्राप्त जर्नल नेचर मेडिसिनमा प्रकाशित भएको छ।

अक्सफर्ड र एडिन्बरा यूनिभर्सिटीका वैज्ञानिकहरूले कोभिडको पहिलो खोप लगाएका मानिस र कोभिड पुष्टि भएका मानिसमा एक महिनाभित्र हुने स्नायुप्रणालीको समस्याको तहको तुलना गरेका थिए।

कस्तो दुर्लभ अवस्था?

उनीहरूले हेर्न खोजेको एउटा दुर्लभ अवस्था गियाङ्-बारे सिन्ड्रोम (जीबीएस) थियो जुन कैयौँ सङ्क्रामक रोग र अन्य खोपसँग सम्बन्धित छ। केही मानिसका लागि भने त्यस्तो समस्या निकै गम्भीर र घातक बन्न सक्छ।

पहिलो मात्रा खोप लगाएका मानिसमा गरिएको अध्ययनमा-

जीबीएस हुने न्यूनतम जोखिमसँग तुलना गर्दा अक्सफर्ड-आस्ट्राजेनेका खोप लगाएका १ करोड मानिसमध्ये थप ३८ जनामा उक्त समस्या उत्पन्न भएको देखियो
फाइजरको खोप लगाएका १ करोड मानिसमध्ये थप ६० जनामा हेमर्‍याजिक स्ट्रोक (रक्तस्रावका कारण हुने मस्तिष्काघात) भएको देखियो।

कोभिड पुष्टि भएका मानिसमा गरिएको अध्ययनमा –

प्रति १ करोड सङ्क्रमितमध्ये झन्डै थप १४५ जनामा जीबीएस देखियो

प्रति १ करोड मानिसमध्ये थप १२३ जनामा मस्तिष्क सुन्निने इन्सेफलाइटिस, मेनिन्जाइटिस र माइअइटिस (मेरुदण्ड हुने सुषुम्ना नाडीको सुजन) देखियो।

प्रति १ करोड मानिसमध्ये थप १६३ जनामा मायस्थिनियाजस्ता स्नायु र मांशपेशीलाई प्रभावित गर्ने प्रतिरोधात्मक समस्याहरू देखा परे।

कोभिड पुष्टि भएको पहिलो एक साता मस्तिष्कमा रक्तस्राव हुने जोखिम बढेको पनि पाइयो। तर त्यस्तो जोखिम एक महिनाभित्र न्यूनतम तहमा फर्किएको थियो।

थप अध्ययन आवश्यक
अध्ययनकर्ताहरूले स्कटल्याण्डमा खोप लगाएका वयस्कहरूको सानो जनसङ्ख्यामा पुनः उस्तै अध्ययन गरेका थिए। त्यहाँ पनि आस्ट्राजेनेका खोप र जीबीएसबिच उस्तैखाले सम्बन्ध पाइएको थियो। फाइजर खोपका हकमा भने बढ्दो जोखिमबारे उस्तै प्रवृत्ति देखिएन।

त्यस्तो सम्बन्ध देखिनुका कारण अझै स्पष्ट नभएको र त्यो बुझ्न थप अध्ययन आवश्यक भएको उनीहरूको भनाइ छ।

यूनिभर्सिटी अफ अक्सफर्डकी प्राध्यापक जुलिआ हिप्स्लि-कक्स भन्छिन्, “यसले दिएको वास्तविक सन्देश के हो भने खोपसँग सम्बन्ध भएका स्नायुप्रणालीसम्बन्धी निकै दुर्लभ समस्याहरू छन्।”

“तर त्यहाँ गम्भीर खाले रोगविरूद्ध खोपको प्रभावकारिताका अभूतपूर्व प्रमाणहरू छन्।”

इम्पीरीअल कलेज लन्डनका प्राध्यापक पिटर ओपन्शस खोप लगाएपछि केही जोखिम बढ्ने कुरा अध्ययनले देखाएको स्वीकार्छन्।

“यद्यपि ती गम्भीर घटना कोभिड पुष्टि भएपछिका स्नायुसम्बन्धी समस्याका तुलनामा निकै साना छन्।”

जीबीएस हुँदा स्नायुमा सुजन तथा दाह हुने र त्यसबाट शरीरमा संवेदनशून्यता, निर्बलता र पीडा हुनसक्छ। त्यस्तो समस्या प्रायः पैताला र हातगोडामा देखिन्छ। छाती र अनुसारमा पनि त्यो फैलिन सक्छ।

यसको उपचार सम्भव छ र धेरैजसो बिरामी पूर्ण रूपमा निको हुन्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *