न्युरोसर्जन डा. राजीव झासँगको संवाद : के हो मस्तिष्कघात, किन हुन्छ र के हुन् लक्षण?

हेल्थपोस्ट नेपाल

आज अक्टोबर २९, विश्व मस्तिस्कघात दिवस संसारभर मनाइँदैछ । यो दिवसको अवसरमा नेपालमा पनि विविध चेतनामूलक कार्यक्रम गरिँदैछ ।

मानिसलाई सताउने विभिन्न रोगमध्ये मस्तिष्कघात अर्थात ब्रेन स्ट्रोक पनि एउटा समस्या हो। विश्वमा हरेक वर्ष यो रोगले धेरै मानिसकाे ज्यान गइरहेकाे हुन्छ।  हामीले यो कस्तो रोग हो, यसका लक्षण के–के हुन, उपचार कसरी हुन्छ र यसबाट जोगिन के–के कुरामा सावधानी अपनाउन सकिन्छ भन्ने बारेमा   वीर अस्पताल तथा ट्रमा सेन्टरका वरिष्ठ न्युरो सर्जन प्रा.डा राजिव झासँग कुराकानी गरेका छौँ। डा. झा नेपाल न्युरो सर्जन समाजको महासचिवसमेत हुन्।

मस्तिष्कघात भनेको के हो?

सामान्य भाषामा भन्ने हो भने घात भनेको ड्यामेज हुनु हो। मस्तिष्कको घात भनेको ब्रेनमा घात भयो भने त्यसलाई मस्तिष्कको घात भनिन्छ।हाम्रो शरीरमा रक्तनलीहरू रहेका छन्। ती रक्तनली ब्लक भयो भने हाम्रो ब्रेन ब्लक हुन्छ। जसलाई हामी मस्तिष्कघात भन्छौं।

मस्तिष्कघात प्रायजसो तीन किसिमले हुने हुन्छ।

मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै रगतको थेल्ला जमेर हुनसक्छ।त्यसैगरि, रक्तनली थुनिएर स्नायु तन्तुहरुमा पोषक तत्व र अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु सुकेर जान्छ। मस्तिष्कघात हुने केही लक्षण हामीले पहिला नै पाइसकेका हुन्छौं।

जसमा आँखा वा अनुहार असमान्य तरिकाले चल्ने गर्छ। हात–खुट्टा झमझमाएको जस्तो अनुभव हुन्छ। यस्तो अनुभव एकछिनको लागि मात्रै हुन्छ। रगत सञ्चालन दुई–चार मिनेटको लागि मात्रै कम भएको हुन्छ। तर, एकछिनमै ठीक भएर जान्छ।

हामीले यस्तो लक्षण देखा पर्दा समयमै थाहा पाएर उपचार गरेको खण्डमा मेजर स्ट्रोकमा परिणत हुँदैन। दिमागको नसाहरु एकदमै पातलो हुन्छ। सानो नसा ब्लक भएको अवस्थामा रगत सञ्चालन हुँदैन। जसले गर्दा दिमागको पार्ट मरेर जान्छ।

मस्तिष्कघातमा नसा फुटेर रगत जम्ने चान्स एकदमै कम हुन्छ। तर, हर्मोरेजिक स्ट्रोक भएको खण्डमा नतिजा एकदमै नराम्रो आउँछ।

मस्तिष्कघात हुने कारण

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका तथा यी रोगका औषधी कहिले खाने, कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जिउनेहरु, तनाव, मुटु, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्क घातको जोखिम उच्च हुन्छ।

विभिन्न अनुसन्धानमा देखाइएअनुसार २५ वर्ष पुगिसकेपछि मस्तिष्कघात २५ प्रतिशत रहन्छ। कुनै पनि अस्पतालमा न्युरोको समस्यालाई हेर्दा धेरै जसो रोगमा स्ट्रोक नै भइरहेको छ। ब्रेनको कुनै कारण मानिसको मृत्यु हुन्छ भने प्रायजसो मस्तिष्कघात नै हुन्छ।

मस्तिष्कघातका लक्षण

मस्तिष्कघातमा नसा सुकेको वा रगत जमेको हो, त्यो अनुसार लक्षण देखा पर्छ। दिमागमा भिन्न–भिन्न पार्टहरु हुन्छ। हरेक भिन्न भागले छुट्टाछुट्टै काम गरेको हुन्छ।
दिमागको दुई भाग हुन्छ, दायाँ र बायाँ।

दायाँ साइडले शरीरमा बायाँतर्फको हातखुट्टा चलाउने काम गर्छ। बायाँतर्फको दिमागले शरीरको दायाँ भाग चलाउने गर्छ।

जस्तैः आवाजको नियन्त्रण गर्ने काम प्रायजसो बायाँ साइडमा हुन्छ। त्यसकारण बायाँ साइडमा मस्तिष्कघात भएको छ भने मानिसमा बोली जाने हुन्छ। केही गरी बायाँ भागको नसा सुकेर गयो भने मानिसको कहिँले आवाज नआउने केसहरु भइरहको हुन्छ। दिमागको कुन ठाउँमा समस्या देखिएको हो त्यो अनुसार लक्षण देखा पर्छ।

तर, साधारण हुने लक्षणमा अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, कान सुन्न छोड्ने, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, वान्ता हुने हुन्छ। मस्तिष्कघात सानो छ भने माथि भनेका जस्ता लक्षण देखापर्छन।

हाम्रो मुटुबाट मस्तिष्कसम्म रगत लैजानको लागि मुख्यतः चारवटा रक्तनली (आर्टरी) हुन्छनः घाँटीको अगाडि, श्वासनलीको दायाँबायाँ दुईवटा क्यारोटिड र घाँटीको पछाडि हाडहरूको बीचबाट जाने दुईवटा भर्टिब्रल आर्टरी।

घाँटीबाट गएको नसा पूरै बन्द भएको अवस्था एकातिरको दिमाग सुुक्छ। यस्तो अवस्थामा मानिस मरणासन्न हुन्छ। मानिसलाई बचाउन गाह्रो हुन्छ।

मस्तिष्कघात भएपछिका लक्षणहरु

उपचारपश्चात ६० प्रतिशत मानिसको मृत्यु नै हुनेगरेको छ। मस्तिष्कघात भएपछि अस्पतालमा उपचार गर्दागर्दै ४० प्रतिशत मानिसको मृत्यु हुन्छ। तर, डिस्चार्ज भएर घर वा पुनस्र्थापना केन्द्रमा थप २० प्रतिशतको मृत्यु हुन्छ।

४० प्रतिशत बाँचेका मध्ये ५ प्रतिशत मात्रै पहिलाकै अवस्थामा फर्किन्छन्। बाँकी रहेका ३५ प्रतिशतमा कुनै न कुनै किसिमको कमजोरीपना देखिन्छ।

हातखुट्टा नचल्ने वा दिमागको स्मरण शक्तिमा कमी आउने, बोली अस्पष्ट हुने, भारीपन वा कमजोरी देखिनु, खाना चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु, स्पर्शलगायतका शारीरिक संवेदना थाहा पाउने नहुनु, आँखा नदेख्ने जस्ता लक्षणहरु जीवनभर नै रहन्छ। बाँचेका मानिसहरुको जीवन बाँधिएको अवस्थामा हुन्छ। उनीहरुले अरुमा निर्भर हुनुपर्ने हुन्छ।

मस्तिष्कघात भएको कसरी पहिचान गर्ने?

बिरामी होसमा आएको छ भने परीक्षण गर्नुपर्ने हुन्छ। कतिपय मानिसमा साधारण कमजोरीपना छ भने रोग नै पत्ता लाग्दैन। रगतको जाँचहरु गर्नुपर्ने हुन्छ। जस्तो कि आफैं धेरै रगत बग्ने गर्दा मस्तिष्कघात हुन्छ।

प्रमुखतः मस्तिष्कघातको पहिचान गर्दा सिटीस्क्यान नै गर्नुपर्ने हुन्छ। तर, यदि नसा सुकेको छ भने सुरुको सिटीस्क्यानमा देखिँदैन। जहाँ न्युरो सेवा छैन त्यहाँ पहिचान गर्न कठिन हुन्छ। सुकेको मस्तिष्कघात हेर्न सबैभन्दा राम्रो एमआरआइ गर्नुपर्ने हुन्छ।

मस्तिष्कघातपछिको उपचार पद्धति

हालसम्म अनुसन्धानले मस्तिष्कघात भएको ४ घण्टाभित्र अस्पताल पुगेमा बन्द भएको नसालाई खोलेर बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने देखाएको छ।

मस्तिष्कघात हुँदा दिमागको सानो वा ठूलो नसा बन्द हुने गर्छ। सानो वा ठूलो नसा बन्द भए पनि ४ घण्टाभित्र अस्पताल पुर्याउन सकियो भने जमेको रगत पगाल्ने औषधि दिन सक्छौं।

साथै बिरामीको ठूलो नसा बन्द भएको छ भने उसलाई हामी क्याथलल्याब भन्ने ठाउँमा ल्याउँछौँ। एक्सरेको मद्दतले खुट्टाको नसाबाट एउटा सानो तार लगेर जुन ठाउँमा बन्द भएको छ त्यो ठाउँसम्म लगेर बन्द भएको नसा खोलेर फेरि मस्तिष्कमा रगत पुर्याउँछौं र उपचार गर्छौं।

मस्तिष्कघात हुनै नदिन के गर्ने?

मस्तिष्कघात भएपछिको नतिजा एकदमै नराम्रो छ। रक्तचाप, मधुमेह, कोलेस्टेरोल उच्च हुने रोग छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ। रक्तचाप उच्च हुँदाहुँदै रक्सी, चुरोट सेवन, व्यायाम नगर्ने मानिसलाई मस्तिष्कघात बढी हुन्छ। मुटुको रोगको समस्या धेरै भएपछि पनि मस्तिष्कघात हुन्छ। त्यसकारण बेला–बेलामा मुटुलाई परीक्षण गरिराख्नुपर्छ।

खानपानमा एकदमै ध्यान दिन जरुरी छ। जो मानिस भेज खाना–सागपात, फलफुल) धेरै खान्छन् उनीहरुलाई मस्तिष्कघात एकदमै कम हुन्छ। त्यसैगरि मस्तिष्कघात हुन नदिन तनाव लिन कम गर्नुपर्छ।

त्योबाहेक हामीले खानामा एकदमै ध्यान पुयाउनुपर्ने हुन्छ। चिल्लो कुरा सकेसम्म कम खानुपर्यो। गुलियो कुरा सकेसम्म कम गर्नुपर्यो। जाँड, रक्सी, चुरोटको सेवन कम गर्नुपर्यो वा गर्दै गर्नुभएन। जीवनशैली सुधार्नु नै सबैभन्दा महत्वपूर्ण हो।

डा. झा नर्भिक अस्पतालमा कार्यरत छन्। 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *