७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

ललितपुर महानगरपालिकाभित्रका ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ। मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो।
७४ वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए। उनले भने, ‘यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ-आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु।’ पहिलो दिन सो खोप १ देखि ५ र २८ र २९ नं वडामा दिइने थापाले जानकारी दिए।
यसैगरि सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई, मंगलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ।