मेरो कार्यकालमा भ्रष्टाचारको कुरा सुन्न, लेख्न र देख्न पाउनुहुन्न : स्वास्थ्य मन्त्री खतिवडा

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा भ्रष्टाचारका कुरा सुन्नु नपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यसअघि कोरोनासँग सम्बन्धीत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएका तथ्य बाहिरिए पनि आफ्नो कार्यकालमा त्यस्तो सुन्न नपर्ने बताए।

‘स्वास्थ्य सामाग्री खरिदमा यसअघि ठूलो भ्रष्टाचार भएको कुरा तपाईंहरुले सुन्नु, लेख्नु भएको छ। मेरो कार्यकालमा स्वास्थ्यमा भ्रष्टाचार भएका कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न।’, उनले भने।

उनले आफू हचुवाका भरमा ठूला र नयाँ योजना ल्याउने पक्षमा नरहेको बताए। ‘नय‍ाँ मन्त्री आउनेबित्तिकै ठूला योजना हचुवाका भरमा झ्याप्प(झ्याप्प ल्याउने र ति पूरा नहुने अवस्था रहन्छ। मेरो कार्यकालमा त्यस्तो हुँदैन। पूरा नहुने महत्वाकांक्षी योजना ल्याएर तीन महिनापछि अनुहारै देखाउन नमिल्ने योजना म ल्याउँदिनँ।’, उनले भने।

मन्त्री खतिवडाले आफ्नो लक्ष्य भनेको सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु रहेको बताए। ‘पहिलो कुरा कोभिड खोपबाट कोही बञ्चित हुन नपरोस् भन्ने नै हो। त्यसका लागि खोप आउन रोकिनु भएन। त्यसका लागि सरकार लागिपरेको छ।’, उनले भने।

खतिवडाले यसअघि १८ वर्षमाथिका लाई मात्र खोप उपलब्ध भएकोमा अब १२ वर्षदेखि माथिका लाई पनि सरकारले खोप दिने तयारी गरेको बताए। डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिका लाई खोप लगाउन १ करोड डोज खोप ‘बुक’ गरिसकेको उनले बताए।

‘यसअघि १८ वर्षमाथिकाले मात्र खोप लगाएका थिए अब १२ वर्षमाथिकालाई पनि खोप दिन १ करोड बुक गरिसक्यौं। अमेरिकाबाट फाइजर र मोडेर्ना खरिद गरेर ल्याउँदैछौं। यो ५० लाखलाई पुग्छ। अमेरिकी अनुदानमा १ लाख खोप आइसकेको छ। केही दिनमै १ करोड डोज खोप पनि आउँछ।’, स्वास्थ्य मन्त्री खतिवडाले भने।

उनले भारत र चीनले बालबालिका लागि नयाँ खोप परीक्षण गरिहरहेका भन्दै जसले अगाडि मान्यता पायो त्यहीँबाट १२ वर्षभन्दा मूनिकालागि खोप खरिद गरिने बताए।

उनले स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो सुनेको भन्दै त्यसका लागि अर्थमन्त्रालयमा ४५ करोड रकम निकासा गर्न माग गरेर पठाइएको बताए। औषधीमा शुल्क बढेको गुनासो बुझ्न पनि सचिवलाई निर्देशन दिएको उनले उल्लेख गरे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *