कहाँबाट कति मात्रामा आउँदैछ कोरोना खोप?

हेल्थपोस्ट नेपाल

सरकारले कोरोना भाइरसविरुद्धको फाइजर, मोडेर्ना र भेरोसेल खोपको ४०-४० लाख मात्रा ल्याउने तयारी गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै थप मोडेर्ना, फाइजर तथा भेरोसेल खोपको ४०–४० लाख मात्रा खरिद गर्न लागेको जानकारी दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेश्वर न्यौपानेले बैठकमा हालसम्म खोप प्राप्ति तथा ‘पाइपलाइन’ मा रहेका खोपबारे छलफल भएको बताए। ‘स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म भएका खोपका उपलब्धि (कभरेज) तथा भण्डारण, ‘पाइपलाइन’ के कस्तो छ भन्ने विषयमा छलफल भयो,’ उनले भने।

उनकाअनुसार माल्दिभ्स, क्यानडालगायतका देशहरुबाट पनि थोरै मात्रामा खोप आइरहने छ।

कोभिड रोकथाम नियन्त्रणका लागि जारी अध्यादेश निष्क्रिय भइसकेपछि समन्वय केन्द्रको पहिलो बैठक बसेको हो। साथै केन्द्रका लागि जनशक्ति र संरचना व्यवस्थापन गर्ने निर्णय भएको छ।

यसैगरि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खोपको अभाव हुन नदिन निर्देशन दिएका छन्।

सबै नागरिकलाई चैतसम्म कोरोना खोप नि:शुल्क दिने तथा खोप अभाव हुन नदिनका लागि दातासँग सहयोग माग्ने तथा खरिद प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको न्यौपानेले बताए।

नेपालमा कुल जनसंख्याको ३४ प्रतिशतले पहिलो डोज र २२ प्रतिशतले दुवै डोज खोप पाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *