जथाभावी डाक्टर लेख्नुहुन्छ? पर्नुहोला नि कारबाहीमा!

हेल्थपोस्ट नेपाल

नेपालमा पछिल्लो समय चिकित्सा क्षेत्रमा जथाभावी नामको अगाडी डाक्टर लेख्ने प्रचलन बढ्दै गएको छ।

ठूला नाम चलेका अस्पतालमा पनि काउन्सिल वा परिषद्को दर्तामा चिकित्सकको उपलब्धि नभएका व्यक्तिले नै डाक्टर लेखेर बिरामी जाँच्ने गरेको पाइन्छ।

अनुसन्धानको क्रममा बेला–बेलामा नक्कली ‘डाक्टर’ प्रक्राउ पर्ने गरेका छन्।

चिकित्सा स्नातक तह र सोभन्दा माथिल्लो तहको अध्ययन पूरा गरेको व्यक्तिलाई काउन्सिलबाट मात्र प्रदान गरिने उपाधिमा चिकित्सक वा डाक्टर भनी उपाधि दिइएको हुन्छ।

तर, बिरामीको उपचारमा संलग्न हुने केही व्यक्तिले फर्जी मार्कसिट बनाएर डाक्टरको ट्याग लगाएका हुन्छन्।

यसविषयलाई मध्यनजर गर्दै नेपाल मेडिकल काउन्सिलले बिरामी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी उपाधि र योग्यता तथा कुनकुन स्वास्थ्यकर्मीले आफ्नो नामको अगाडी डाक्टर के–कुन आधारमा लेख्ने भन्ने विषयमा निर्णय समेत गरेको छ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) ‘चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्ने उल्लेख छ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले चिकित्सा क्षेत्रमा नाम अगाडी डाक्टर के तथा कुन आधारमा लेख्ने प्रष्ट सँग ऐनमा उल्लेख भएको बताए।

काउन्सिल ऐन,२०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धि चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धि डिग्री, डिप्लोमा , सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन भन्ने व्यवस्था छ।

तर, काउन्सिल प्रदान गरिने दर्तामा चिकित्सकको उपाधि नभएका व्यक्तिले सो उपाधि प्रयोग गैर कानुनी हुने डा. अधिकारीले बताए।

डा. अधिकारीका अनुसार उपाधि नभएका व्यक्तिले ‘डाक्टर’ लेख्ने गरेको पाइएमा तीन बर्ष जेल सजाय र ३० हजार जरिवाना हुन्छ।

त्यसैगरी, उपाधि नै नपाएका व्यक्तिले उपचार गरेर अंगभंग वा मृत्यु भएको खण्डमा बिरामीको आफन्तले दावी गरेअनुसार क्षतीपूर्ती दिनुपर्ने हुन्छ।



Leave a Reply

Your email address will not be published.