वीर अस्पतालले सुरु गर्‍यो सर्जिकल भवनमा फार्मेसी सेवा, औषधिको अंकित मूल्यमा ५० प्रतिशत सम्म छुट

हेल्थपोस्ट नेपाल

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालको सर्जिकल भवनबाट पनि फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ।

सर्जिकल भवनमा मंगलबारदेखि फार्मेसी सेवा सुरु भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए।

उक्त फार्मेसी सेवा २४ सै घण्टा सञ्चालन गरिने छ। योसँगै रातिको समयमा वीरका बिरामीले फार्मेसी सेवा लिन निजीमा जानुपर्ने बाध्यता हटेको छ।

केही समय अगाडी मात्रै पुरानाे भवनबाट रात्रीकालिन सेवा फार्मेसी सेवा सुरु गरिएकाे थियाे।

निजी फार्मेसीमा औषधि महंगो हुने भएकाले दिउँसै पनि अस्पतालभित्रैकै फार्मेसीमा औषधि किन्न लाइन हुन्छ।तर, रात्रीकालिन सेवा पनि सुचारू गरेसँगै विपन्न वर्गका लागि धेरै राहत हुने विश्वास गरिएको छ।

अस्पतालको फार्मेसीले दिने छुट र विश्वसनीयताका कारणले अस्पतालकै फार्मेसी हरेक बिरामी र तिनका आफन्तको रोजाईमा गर्दै आएको छ।

डा. बस्नेतका अनुसार कोरोना संक्रमितको संख्या न्युन भएमा सो भवनमा सर्जिकल सेवा सञ्चालन गरिने भएकाले फार्मेसीमा सर्जिकल सम्बन्धि सामाग्री तथा औषधि राखिएको हो।

‘रात्रिकालीन सेवा उपलब्ध नहुँदा निजी बिरामीले मंहगो औषधि किन्नु पर्ने बाध्यता थियो,’ डा. बस्नेतले भने, ‘वीरमा २४ घन्टा फार्मेसी सेवा उपलब्ध हुने भएपछि निजीमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।’

अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा ५० प्रतिशतसम्म बढी छुट हुने डा. बस्नेतले बताए। बिमा गरेका बिरामीले रातिको समयमा निजी फार्मेसीमा पैसा तिरेर औषधि लिनुपर्ने बाध्यता थियो। अब बिमा गरेका बिरामीले पनि निजीमा जानुपर्नेछैन।

अस्पतालमा अप्रेसन गर्नुपर्ने बिरामीलाई लक्षित गरेर छिट्टै अस्पतालको चार तलामा अप्रेसन थिएटरको बाहिर पनि फार्मेसी सेवा सञ्चालन गर्ने योजना छ। वेवारिसे बिरामी तथा असहायका लागि फार्मेसीबाट निःशुल्क औषधि पाइने डा. बस्नेतले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *