स्वास्थ्य बिमा : भुइँमान्छेलाई हाउगुजी!

सधैं स्वस्थ पनि रहन नसकिने रहेछ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा आफैं वा आफ्नो नजिकको बिरामी नहुँदासम्म पत्तो पाइन्न। एक पटक अस्पताल पुग्नपर्छ, धेरै कुराको दर्शन पाइन्छ। सम्पूर्ण जीवन दर्शन देख्न पाइन्छ। लगभग सबै जाँच हुने विश्वासले बिरामी हुँदा नजिकैको मेडिकल कलेजमा जान रुचाइन्छ। केही महिना अगाडिको कुरा हो, मेडिकल कलेजमा आफन्त बिरामीको चेकजाँचका लागि ब्ल्ड टेस्ट आदिको दौड्धुपमा थिएँ।

साँझको समय थियो। घाम डुबिसकेको थियो। म लाइनमा व्याकुल हुँदै उभिइरहेको थिएँ। मेरो अगाडि अन्दाजी १५ वर्षीया किशोरी नि थिइन्। अलि पुरानो लुगा, खुट्टामा हिलो र फाट्नै लागेको चप्पल लगाएकी थिइन्। उनी टाउको एकातिर बङाउदै कान च्यापिरहेकी थिइन्। सजिलै अनुमान लगाउन सकिन्थ्यो कि उनको कान बेस्सरी दुखेको हुनुपर्छ। उनको साथमा ३०–३२ वर्ष जतिकी महिला पनि थिइन्। वातावरण पूर्ण नियाल्न नपाउँदै बिल काउन्टरबाट पैसाको माग आउँछ।

इमर्जेन्सी टिकटको मूल्य सुनेर होला। ती किशोरी केही झस्किन्छिन्, केही हच्किन्छिन्। उनको हातबाट खुम्चिएको ५०० रुपैयाँको नोटले नभ्याउने जस्तो लागेपछि उनी लाइन छोडेर निस्किन्छिन्। उनीसँग साथमा रहेकी महिला भन्छिन्–लौ न। कति अचाक्ली महंगो रहेछ।

मैले पनि आफ्नो ब्लड टेस्ट आदिको पैसा तिरेँ। मलाई पनि पहिलेकोभन्दा धेरै महंगो लाग्छ। बाध्यता थियो। बिरामीको उपचार गर्नैपर्‍यो। पछि विचार गर्दा मलाई लाग्छ–मेडिकल कलेजले त्यो अत्याचारी शुल्क लिन नहुने हो। किनभने मेडिकल कलेजको भुइँ मान्छेहरुप्रति अझै बढी जिम्मेवारी हुन्छ। तिनै बिरामीहरुका रोग अध्ययन गरेर धेरै स्वास्थ्यकर्मी र चिकित्सक उत्पादन हुन्छन्। ती सम्पूर्ण बिरामीप्रति उत्तरदायी हुनैपर्छ। कसैले प्रारम्भिक प्रवेश शुल्क नै तिर्न नसकेर स्वास्थ्य सेवाबाट बन्चित हुनु दुर्भाग्य हो। यदि सरकार जनताप्रति उत्तरदायी छ भने त्यस्ता अराजक शुल्कप्रति सरकारको ध्यान जानु अपरिहार्य हो ।

अहिले चिकित्सा शिक्षाको निश्चित शुल्क निर्धारण गरेपछि मेडिकल कलेजहरुमा पैसाको बलमा मात्रै डाक्टर पढाइ हुनमा रोक लागेको छ। जसको बढी पैसाको लगानी, उसले डाक्टर पढ्न पाउने कुसंस्कार त हटिसकेको छ। त्यसको सोधभर्ना कतै आम जनताबाट बेडचार्जदेखि ल्याब चार्जको शुल्कबाट गर्न खोजिएको त हैन? र, यो कोभिडको समयमा ती मूल्यमा कुनै अंकुश लगाउन नसकेको अनुभव सबैलाई भएकै हो। किनभने कोभिडको महामारी थेग्न नसकेर सरकार आफैँ निरीह हुन पुगेको थियो। महामारीमा निजी अस्पतालले राम्रो सेवा दिएका हुन्। तर शुल्कलाई मनपरी गरिएको आभास हुनाले यस विषयलाई सायद अब निर्वाचित हुने मेडिकल काउन्सिलका उम्मेदवारहरुले गम्भीरताका साथ लिनेछन् भन्ने आश छ। एनएमसीले मेडिकल कलेज निरीक्षण गर्ने बेला ‘धन भनेपछि महादेवका त्रिनेत्र’ भन्ने आरोपलाई असत्य सावित गर्नेछ भन्नेमा विश्वास छ।

ती किशोरीको घटना प्रतिनिधिमात्र हो। सबैले भोगेको घटना हुनुपर्छ। तर त्यसले सम्पूर्ण राष्ट्रको स्वास्थ्य सेवाको प्रवाहको कमजोरी उदांंग गर्छ। त्यसैले होला, देशको हरेक भूगोलमा उपयुक्त हुने गरी एउटा मेडिकल कलेज सरकारी नै हुनुपर्छ भनेर भन्ने गरेको कुराले मलाई बिझ्यो।

नाफामूलक संस्थाहरुले भुइँमान्छेलाई सेवा प्रवाह गर्न असमर्थ रहन्छन्। सबैभन्दा महंगो अस्पताल भनेर सोच्दा धेरैको दिमागमा ग्राण्डी वा मेडिसिटीको नाम अग्रपंक्तिमा आउँछ होला। त्यो सेवा महंगो नलाग्ने व्यक्तिहरु पनि छन्। उनीहरुका लागि त्यो सेवा राम्रो र ठीक छ। तर घरखेत नै बेच्नुपर्ने गरी आर्थिक भार पर्ने त्यो स्वास्थ्य सेवा आममानिसलाई कल्पनामात्रै हुन्छ। त्यसैले त सरकारी अस्पताल सुदृढ हुनुपर्छ। सक्षम हुनुपर्छ। बिरामीको उपचार राम्रो र गुणस्तरीय हुनुपर्छ। बिरामी कुर्ने सोफा चिल्ला नभए पनि फरक नपर्ला। सामान्य कुर्सी र टुल पर्याप्त होला। करिडरमा एसीको व्यवस्था गर्न नसके पनि उपचार उल्टो त पर्दैन।

एक पटक सुन्नमा आएको थियो–मेडिकल कलेजहरुले १० प्रतिशत बेडहरु गरिब बिरामीका लागि निःशुल्क गर्नुपर्छ। के त्यो सत्पात्र बिरामीका लागि कार्यान्वयन भइरहेको छ त? वा त्यो खुसीको खबर क्षणिक देखाउनकै लागि मात्रै हल्ला थियो त? अहिलेसम्म कम्तीमा १० प्रतिशत एमबिबीएस सिट छात्रवृत्ति दिन बाध्य भएका मेडिकल कलेजलाई १० प्रतिशत बेड निःशुल्क बेड गराउन मिल्ने भए!!!

हरेक वडामा अस्पतालको कल्पना गर्नुभन्दा भूगोलको हिसाबले भएका अस्पताललाई व्यवहारिक स्तरोन्नति गर्ने र नभएको स्थानमा नयाँ एउटै अस्पताल बनाउनु निकै फलदायी हुनेछ। स्थानीयबीचको जुँघा लडाइँले केवल व्ययमात्रै हुन्छ। भूगोल र जनसंख्याका आधारमा स्वास्थ्य संस्था निर्माण तथा स्तरोन्नति हुनुपर्छ। न कि, कसैको राजनैतिक एजेन्डा परिपूर्तिका लागि….

यी सब कुराहरु मनमा ओइरिँदै थिए। बाहिर अस्पताल प्राङ्गणको वायव्य कुनामा ती नानी पीडाले गर्दा कानलाई छोपेर बसेकी रहेछिन्। त्यो दृश्यले गर्दा म नसोधी बस्न सकिनँ। उनको कान धेरै दिनदेखि दुखेको रहेछ। सहनै नसक्ने भएपछि अस्पताल आउने आँट गरेकी रहिछन्। आमा छोरी दुवैले ज्याला मजदूरी गर्नुपर्ने वाध्यताले उनले सानोमा पढ्न पनि छोडेकी रहेछिन्। सुन्दा अचम्म लागे पनि अस्पताल आउन पनि ठूलो आँट चाहिन्छ कतै कतै । हैन त?

आफैँ बिरामी लिएर उपचार गराउन गएको मभित्रको डाक्टरी नचाहे पनि जाग्न थाल्यो। उनीसँग आएको साथीलाई केही सुपथ मुल्यका औषधि कागजमा लेखेर किन्न पठाएँ। दुखाइ कम गर्ने औषधि तुरुन्तै खान दिएँ।

दुखाइ केही कम भएपछि मैले उनलाई सोधेँ–स्वास्थ्य बिमा भनेको थाहा छ? उनलाई त्यसको बारेमा केही ज्ञान रहेनछ। स्वास्थ्य विमा गरेको भए अस्पताल प्रवेश गर्न नपाइ बाहिर बस्नुपर्थेन। उपचार पनि सहज हुने थियो। स्वास्थ्यको पहुँच पक्कै पनि बढाउने गर्छ बिमाले। कुरो हो कसको पहुँच। भनिन्छ नि केही कुरा उपयोग गर्न पनि अक्कल हुनुपर्छ। टाठाबाठाले बिमाको जबर्जस्ती उपयोग गर्न होल बडी चेक अप आदि गर्न लगाएर वा बिरामी भएको नक्कल गरेर अक्कल लगाउँछन्। एक किसिमले भन्नुपर्दा बिमा गर्दा केही पैसा तिरेकोले जबर्जस्ती दुई गुणा उठाउनैपर्छ भन्ने मानसिकता छ। कतै भने ती नानीजस्तै बिमा भनेको नै थाहा नहुने पनि छन्। बिमाको सम्पूर्ण फाइदा र उपयोगिता उनीहरुलाई बुझाएँ र बिमा गराउन राजी गराएँ। छिटोभन्दा छिटो सम्पूर्ण जनतामा स्वास्थ्य विमाको पहुँच सुनिश्चित होस् ।

केही समयमा औषधिले राम्रै काम गरेछ। त्यसैले उनीहरु घर फर्किन्छन्। उनीहरु फर्किँदै गर्दा एउटा सामान्य स्वास्थ्यको अधिकारबाट वन्चित गरेको दृश्य मेडिकल कलेजका भित्ता र बोर्डले देखेर निकै खिन्न हुन्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *