राष्ट्रपतिले कोरोना खोपले एड्स गराउने सन्देश फैलाएपछि…

कोरोना खोपले एड्स गराउने भन्दै अफवाह फैलाउने भिडियोलाई सामाजिक सञ्जाल फेसबुक र युट्युबले हटाएको छ।
ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा एड्स देखापर्ने भन्दै भिडियो सार्वजनिक गरेका थिए।
फेसबुक र युट्युब दुबैले नीतिको उल्लंघन गरेको भन्दै उनको भिडियो हटाईदिएको हो।
फेसबुकका प्रवक्ताले कोभिड–१९ विरुद्धको खोपले मानिसलाई मार्ने वा असर गर्ने खालका विषयमा फेसबुकले कुनै पनि सामाग्री सह्य नगर्ने नीति रहेको बताए।
त्यस्तै, युट्युबले पनि फेबुकले जसरी नै उक्त सामाग्रीलाई हटाएको थियो।
‘हाम्रो नीति अनुसार कसैले पनि मेडिकल दुष्प्रचार गर्न पाउँदैनन्। जेर बोल्सोनारोले उक्त नीतिको विपरित खोपले अन्य रोग फैलाउने भन्दै प्रचार गरेका कारण उनको च्यानलबाट उक्त भिडियो हटाइएको हो,’ युट्युबले विज्ञप्ती जारी गर्दै भनेको छ।
युनाइटेड नेसन प्रोग्राम अन एचआइभी एण्ड एड्स (युएनएड्स) का अनुसार कोरोना विरुद्धको खोप स्वास्थ्य विज्ञहरुले नै सबै व्यक्तिहरु जसमा एचआईभी तथा एड्सका विरामीलाई पनि लगाउन सकिने भन्दै अनुमोदन गरेको हो।
युट्युबले केही महिना अगाडी पनि बोल्सोनाराको भिडियो बन्द गरेको थियो। उनले प्रमाण नै नभएको ‘हाइड्रोक्लोरोक्विन तथा इभरमेमटिन’ औषधी प्रयोग गर्न भन्दै अफवाह फैलाएको थियो।
युट्युबले उनको च्यानललाई ७ दिनको लागि बन्द गरिदिएको छ।