…अनि भोको पेट भर्न सानी छोरी बेचिदिएँ

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानवीय संकट देखा पर्न थालेको छ। अन्तर्राष्ट्रिय सहयोगहरु रोकिएका छन् भने रोजगारीका अवसरहरु खुम्चिएका छन्। जसले भोकमरी निम्त्याएको छ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तत्काल खाद्य सहयोग उपलब्ध नभए लाखौं मानिसको ज्यान भोकमरीका कारण जानसक्ने चेतावनी दिएको छ।
यसबीच, बिबिसी रिपोर्टमा एउटा दर्दनाक घटना देखाइएको छ। जसमा एक महिलाले परिवारका अन्य सदस्यलाई भोकमरीबाट जोगाउन आफ्नी सानी छोरीलाई बिक्री गरेकी छन्। उनले सानी छोरीलाई ५ सय अमेरिकी डलरमा बिक्री गरेकी हुन्।
‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले छोरी बेच्न बाध्य भएँ। म निकै दु:खी छु, किनकी उ मेरै छोरी हो।’, उनले भावुक हुँदै भनेकी छन्, ‘हामी भोकले मरिरहेका छौं। हामीसँग अहिले न त पिठो छ न त तेल। हामीसँग केही पनि छैन। मेरी छोरीको भविष्य कस्तो हुन्छ थाहा छैन। उसले केही थाहा पाउने अवस्था पनि छैन। तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ।’
अहिले बालिका एउटा अस्पतालमै रहेकी र केही ठूली भएपछि उनलाई घर लगेर आफ्नो छोरासँग विवाह गरिदिने खरिद गर्नेले भनेका ति महिलाले बताइन्।