काठमाडौंमा एस्ट्राजेनेका खोप कात्तिक ९ गतेबाट दिइने, कहाँ –कहाँ पाइन्छ?

हेल्थपोस्ट नेपाल

काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा कात्तिक ९ गतेदेखि लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ।

उक्त सूचना अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्टाजेनेकाको दोस्रो डोज लगाइने छ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने सूचनामा उल्लेख छ।

काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप हुने छ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि कार्यालयले आग्रह गरेको छ। यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्षमाथिका समूहलाई एस्ट्राजेनेकाको पहिलो डोज लगाएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *