आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं – कात्तिक ७ गतेदेखि सुरु भएको भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि छुटेकाहरुलाई खुवाइँदै छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसक्रममा आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो भने छुटेकाहरुलाई आज पनि खुवाइँदै छ।

सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाइँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाइएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने बताए।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह पनि गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *