वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

हेल्थपोस्ट नेपाल

यो वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन्।

सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ। भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महामारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन् ।

 

प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कूल एक हजार २८४ जना घाइते भएको विवरण छ। कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने एक अर्बभन्दा बढीको क्षति भएको छ । पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता रहेका छन्। मनसुन अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए। यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ ।

मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो। अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ। सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *