अल्केम ल्याब्रोटरिजको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

हेल्थपोस्ट नेपाल

औषधि व्यवस्था विभागले भारतीय कम्पनी कम्पनिको औषधि विक्री–वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेको हो।

निमोसुलाइड ट्याब्लेट १०० एमजीको १९१३००७० ब्याच नम्बरका औषधि न्यून गुणस्तरको फेला परेको हो।

विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको छ। निमोसुलाइड ट्याब्लेट दुखाई कम गर्न खाने गरिन्छ।

यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् । विभागको प्रत्येकजसो अनुगमनमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन पाइनुले मानव स्वास्थ्यमा खेलबाड भइरहेको बुझाउँछ। अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन औषधि बजारमा विक्री–वितरण भइरहेका छन् । यस्तोमा बजारबाट फिर्ता गर्नुभन्दा पनि गुणस्तरहीन औषधिलाई बजारमा प्रवेश नै नदिनु प्रमुख चुनौती बनेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *