मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निकालिए तीन कर्मचारी

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनजना कर्मचारीलाई जागिरबाट निकालेको छ। प्रतिष्ठानले जानकारी नै नगराइ तीनजना कर्मचारीहरूलाई निकालेको हो।
सप्तरीका अमन दास, धनुषाकी ज्योति चौधरी र सञ्जिव साह जागिरबाट निकालिएका हुन्। जागिरबाट निकालिएका उनीहरूलाई प्रतिष्ठानले करिब ८ महिनाअघि ज्यालादारीमा नियुक्त गरेको थियो।
आफूहरूलाई जानकारी नै नदिइ प्रतिष्ठानले जागिरबाट निकालिएको उनीहरूले बताएका छन्। ‘गल्ती नै नगरी हामीलाई जागिरबाट निकाल्न पत्र थमाइँदैछ,’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने,‘गल्ती नै भएको छ भने नियमानुसार प्रष्टिकरणको मौका हामीले पाउनुपर्ने हो। तर, सोझै जागिर छोड्न भनिएको छ।’
कर्मचारी साथीहरूबीच सामान्य भनसुन भएको निहुँ बनाएर आफूहरूलाई जागिरबाट निकाल्न खोजिएको उनले बताए।
प्रतिष्ठानका प्रशासन प्रमुख सन्तोष ठाकुरले प्रतिष्ठानको प्रतिष्ठामाथि आँच आउने गतिविधि गरेपछि तीनजना कर्मचारीलाई निष्कासन गर्ने निर्णय भएको बताए।
कार्यालयभित्रै उनीहरूले एकआपसमा झगडा गरेपछि जागिरबाट निष्कासन गर्ने अवस्था आएको उनको भनाइ छ। दरबन्दी किटान गर्न नसकेको प्रतिष्ठान ज्यालादारीमा कर्मचारी नियुक्त गरेर कार्य सञ्चालन गर्दै आइरहेको छ।