देशभरीका पाँच उत्कृष्ट कर्मचारीमा स्वास्थ्यका डा. सुमित्रा र शिला

कोभिड–१९ को महामारीका बीच हरेक वर्षजस्तै यस वर्ष पनि अकाउन्टिबिलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आइकन–२०२१ सार्वजनिक गरेको छ।
कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको भन्दै ल्याबले महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा र विभिन्न भूमिकामा रहेर निष्ठापूर्वक काम गर्नेहरूमध्येबाट इन्टेग्रिटी आइकन सार्वजनिक गरेको हो।
यस वर्षका पाँच इन्टेग्रिटी आइकनहरूलाई देशभरबाट प्राप्त भएका ३३५ मनोनयनबाट निर्णायक समितिले छनोट गरेको हो।
सन् २०२१ का इन्टेग्रिटी आइकनमा भेरी अस्पताल नेपालगञ्ज बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चन रहेका छन् ।
भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतमले केही वर्ष अगाडीसम्म धरासयी भक्तपुर अस्पतालको नेतृत्व सम्हालेपछि प्रदेशकै उत्कृष्ट अस्पताल बनेको बताइएको छ । सामान्य ड्रेसिङसम्मको सुविधा मात्र उपलब्ध हुने सिन्धुली अस्पताल उनले नेतृत्व लिएपछि देशकै नमुना अस्पताल बनेको थियो ।
भेरी अस्पताल बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा अस्पतालमा कोभिड फोकल पर्सन हुन् । कोरोना भाइरस महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरेकी थिइन् ।
निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।
इन्टेग्रिटी आइकन सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ ।