रत्ननगर अस्पताल तोडफोड,मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि हातपात

चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मदिरा सेवन गरि मध्यरातमा अस्पताल तोडफोड गरेको छ।
अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नुको साथै कुटपिट भएको छ।
अस्पतालका प्रमुख डा. विश्ववन्धु बगालेले बुधबार मध्यरातमा ५–६ जनाको समूहले अस्पताल तोडफोड गरेका हुन्।
‘अस्पतालको सिसिटिभी हेर्दा उनीहरु मदिरा सेवन गरि आएको देखिन्छ। उपचार गर्न ढिलाई गरेको भन्दै उनीहरुले स्वास्थ्यकर्मी माथि हातपात समेत गरेका छन्,’ डा. बगालेले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेका छन् ।’
उनीहरुले आकस्मिक कक्षको ढोकाको सिसा फुटाएका छन्। तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन।
घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको छ। तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ। प्रहरीले अस्पताल तोडफोड गर्नेको खोजी गरिरहेको छ।
राती डियुटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने भएकाले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने डा. बगालेले बताए।