सहकार्यले जुराएको एक सफल डाक्टर दम्पती

हेल्थपोस्ट नेपाल

पोखरा मणिपाल कलेजबाट भर्खरै एमबिबिएस पूरा गरेर डा. विनीता जोशी वीर अस्पतालमा जनरल मेडिकल विभागमा इन्टर्नसिप गर्दैै थिइन् । डा. रोविन जोशी सर्जरी विभागमा काम गर्थे । पढाइ सकेका छोराछोरीको उपयुक्त वरवधू खोजेर विवाह नगरिदिँदासम्मको परिवारको हुटहुटी भोग्नेलाई मात्रै थाहा हुन्छ । दुवैको परिवार छोराछोरीका लागि उपयुक्त वरवधूको खोजीमा थिए ।

एउटै अस्पतालका फरक विभागमा कार्यरत डा. विनीता र डा. रोविन पनि आफ्ना लागि उपयुक्त जीवनसाथीको खोजीमा थिए । अस्पतालले जुराएको चिनजान र भेटघाट साथी र आफन्तको सम्बन्धसँग पनि जोडियो । उनीहरूका साथी मात्रै होइनन्, बाबुका साथीहरू पनि साझा थिए । संयोग कस्तो पर्‍यो भने, साथी र आफन्तबाट विवाहका लागि उनीहरू चुनिँदासम्म दुवैले एकअर्कालाई पनि मनपराइसकेका थिए । विवाहको कुरा घरबाट आउँदासम्म उनीहरूले पनि त्यसतर्फ सोच बनाइसकेको अवस्था थियो । दुवैले डाक्टरी पढाइ सिध्याइसकेका थिए । सामाजिक रूपमा सम्बन्ध जोडियो ।

१४ फ्रेबुअरी २००२ (प्रणय दिवसको दिन)मा उनीहरूको इन्गेजमेन्ट भयो र १ मेमा विवाह । सामाजिक रूपमा यो विवाह थियो, व्यावहारिक रूपमा दुवैको मिहिनेत र लगाव जोडेर एउटा सुन्दर संसार सिर्जना गर्ने सहकार्यको सुरुवातको दिन बन्यो । वरिष्ठ युरोलोजिस्ट एवं काठमाडौं मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. रोविन जोशी र नर्भिक अस्पतालकी बालरोग (ग्यास्ट्रोइन्टेरोलोजी, न्युट्रिसन हेपाटोलोजी) विशेषज्ञ डा. विनीता जोशीको सहकार्यले परिवार सफल बनाएको छ ।

जीवन एक भयो, लक्ष्य एउटै थियो, तर लक्ष्य प्राप्त गर्न दुवैले यात्रा गर्नु नै थियो । त्यसका लागि के गर्ने त ? सहकार्य ।

दुवैले प्रण गरे, घरपरिवार, करिअर सबैका लागि सहकार्य नै शक्ति हो, जसले जिन्दगीलाई मजबुत बनाउँदै लान्छ । लामो यात्राको सुरुवात सामाजिक, व्यावहारिक र भावनात्मक रूपमा समेत सुरु भइसकेको थियो । एमबिबिएस सकिए पनि दुवैले विशेषज्ञ डिग्री लिइसकेका थिएनन् । सकेसम्म सबै कुरामा साथ दिनु नै थियो । त्यही सोचअनुसार सहकार्यबाट फरदर स्टडी गर्ने योजना उनीहरूले बुने र सोहीअनुसार गरे ।

सन् २००४ मा रोविनले पाकिस्तानमा युरो सर्जरीमा पोस्ट ग्राजुएसन (पिजी)को लागि छात्रवृत्ति पाए । सँगै जाने सोचले पिजी नभए पनि विशेषज्ञ तहकै तालिमका लागि विनीताले पनि आवेदन दिइन् । दुवैलाई पाकिस्तान जाने अवसर आयो । पाकिस्तान बस्दा नै तालिमसँगै बच्चाको तयारी भयो । तर, त्यहाँ बच्चा पाउन, हुर्काउन त्यति सहज हुने नदेखेर विनीता बच्चा जन्माउन नेपाल फर्किइन् ।दुवैको परिवारबाट सहयोग हुने देखेर नेपालमै बच्चा हुर्काउने सोच बन्यो । सोहीअनुसार विनीताले पिजीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आवेदन दिइन्, लक्किली नाम निस्कियो ।

बच्चा ७ महिनाको थियो । रोविन पाकिस्तानमा पढ्दै थिए । विनीता रात्रिकालीन ड्युटी भएका वेला स्तनपानका लागि बच्चा लिएरै अस्पताल जान्थिन् । रोविनले पाकिस्तानबाट पिजी सकेर सन् २००६ मा नेपाल फर्किएपछि ३ महिना वीरमा काम गरे । केही महिनापछि काठमाडौं मेडिकल कलेजमा काम थाले ।

अर्को वर्ष विनीताको पिजी सकियो । विनीता पनि २००७ मा केएमसीमा काम गर्न थालिन् । विशेषज्ञ पढाइ सकिए पनि पछिल्लो समय चिकित्सा विधामा सबस्पेसलाइज्ड हुनुपर्छ । त्यसका लागि दुवै कुनै एकेडेमिक तालिमको खोजीमा लागे ।

रोविनको चाहना युरोअंकोलोजी थियो, विनीतालाई बालरोगतर्फ पनि ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी र न्युट्रिसनमा चासो थियो । त्यतिवेलासम्म नेपालमा बच्चाको प्रपर इन्डोस्कोपी नै हुँदैनथ्यो । डेडिकेटेड मान्छे नहुँदा कि ठूला मान्छेको इन्डोस्कोपी गर्नेले नै बच्चाको पनि गर्थे, कि त भारत पठाइन्थ्यो ।

जहाँ इच्छा त्यहाँ अवसर, सन् २०१० मा दुवैले आआफ्नो रुचिअनुसारको विधामा एकैपटक अप्लाई गरे । सानो छोरा २ वर्षको मात्रै थियो । परिवारको जिम्मामा बच्चा छोडेर सन् २०११ मा थप विशेषज्ञताका लागि रोविन युरोअंकोलोजी पढ्न भारतको राजीव गान्धी भए । विनीता पनि भारतकै गंगाराममा पेडियाट्रिक ग्यास्ट्रोइन्ट्रेरोलोजीमा फेलोसिप गर्न गइन् । रोविन केएमसीको सम्झौतामा थिए । विनीता जागिर छोडेरै पढ्न गइन् ।

दुवै दिल्लीमै भए पनि एकअर्काको पढाइ सेन्टर पुग्न दूरी बस वा मेट्रोमा ४५ मिनेट यात्रा गर्नुपथ्र्यो । विनीतालाई सजिलो होस् भनेर रोविनले गंगारामनजिकै अपार्टमेन्ट लिए, जहाँबाट उनी राजीव गान्धी जान दैनिक ४५ मिनेटको यात्रा गर्थे । करिअरका लागि दिल्लीमा भए पनि उनीहरू बच्चालाई भेट्न समय मिलाएर नेपाल आइरहन्थे, स्कुल छुट्टी भएका वेला बच्चालाई उतै लिएर जान्थे ।

तालिम सकेर फर्किएपछि रोविनले केएमसीमै काम थाले । अहिले उनी केएमसीमा एसोसिएट प्रोफेसर छन् । साँझको समय नर्भिकमा काम गर्छन् ।

विनीताले पढेर आएको विषय नेपालका लागि नयाँ थियो । डाक्टर पनि यो विषयमा अनभिज्ञ थिए । विनीताले धेरै र सबै क्षेत्रका बिरामीलाई सेवा दिन सकिने भएकाले कान्ति बालअस्पताल रोजिन् ।

कान्तिमा उनले ६ महिना ‘अनररी’ गरिन् । सेवाबारे जानकारी बढ्यो । बिरामी आउन थाले, तर बच्चाको सेवाका लागि चाहिने मेसिन थिएन । त्यसपछि उनले नर्भिकमा काम थालिन् । तालिम गरेर नेपाल फर्किएपछि ५ वर्षअघि उनीहरूले आरम्भ गरेको यात्रा अहिले पनि जारी छ । नर्भिकका अतिरिक्त उनी निदानमा सेवा दिन्छिन् ।

१५ वर्षको सहयात्रामा विनीता र रोविनले आर्जन गरेको ‘जीवन दर्शन’अनुसार पहिलो प्राथमिकता परिवार नै हो । उनीहरूको सहकार्य परिवारलाई दिने समयको व्यवस्थापनमा पनि छ । ‘बिहान छोराहरू स्कुल गएसँगै म चाँडै निस्किन्छु, साँझ म छिट्टै फर्किन्छु,’ विनीताले भनिन् । विनीताको ढिलो हुने दिन रोविन समय निकालेर घर आउँछन् । ‘कन्फरेन्स वा अन्यत्र जाँदा कि बच्चालाई सँगै लिएर जान्छौँ, नभए दुवैजना एकैपटक कार्यक्रम पार्दैनौँ,’ रोविनले भने, ‘परिवारलाई प्राथमिकतामा राख्ने कुरामा हाम्रो पहिलो सहकार्य छ ।’

विदेश वा स्वदेशमै पनि उनीहरू कि सबै परिवार जान्छन्, नभए दुवैजनाले बच्चा छोडेर कतै जाँदैनन् । उनीहरू कोरिया, अस्ट्रेलिया, जयपुरका कार्यक्रममा सपरिवार गए । गत वर्ष विनीताको हैदराबादमा सम्मेलन पर्दा रोविनले धरानमा भएको न्युरोलोजिकल कन्फरेन्स छोडे । ‘कम्तीमा एउटाले बच्चालाई नछोड्ने र कार्यक्रमको महत्व हेरेर सघाउने हो,’ रोविनले भने ।

छुट्टीको दिन विनीता घरको किनमेल र अन्य काममा लाग्छिन् । रोविन बिदाको पूर्ण दिन छोराहरूलाई दिन्छन् । चिकित्सा पेसामा जति अनुभव थपिँदै जान्छ, उति डिमान्ड पनि बढ्छ । ‘कतिपय अवस्थामा बिरामीलाई पनि नकार्न मिल्दैन । वार्डमा भर्ना गरेको बिरामीलाई इरेगुलर समय दिनुपर्दा एकअर्काले सपोर्ट गर्छौं,’ रोविनले भने । उनीहरूले साँझको केही समय बिरामीले केही अप्ठ्यारो पर्दा फोन गर्न छुट्याएका छन् ।विनीता र रोविनले परिवारलाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘परिवार मिल्यो भने करिअर पनि अगाडि बढ्छ, मिलेन भने करिअर नै अलमलिन्छ,’ रोविनले थपे । अहिले बाबुआमाको समय र दैनिकीमा बच्चासमेत अभ्यस्त भइसकेका छन् ।

परिवार मात्र होइन, एकअर्काको सहकार्यले प्रोफेसनमा पनि ठूलो सहयोग मिलेको छ । बच्चामा युरोलोजिकल समस्या भएको अवस्थामा विनीताले रोविनको सहयोग लिन्छिन् । रोविन पनि बच्चासम्बन्धी समस्या आउँदा विनीतालाई नै सम्झिन्छन् । त्यसबाहेक विशेष केस नआईकन घरमा पेसाका कुरा हुँदैनन् । ‘पेसाका कुरा पनि एकअर्कामा रिलेटेड छन्, विशेष केस भए मात्र घरमा छलफल हुन्छ, अन्यथा हामी सहयात्री भएर घरको समय बिताउँछौँ,’ विनीताले भनिन् ।

घरको काम सघाउन सहयोगी छन् । तर, उनीहरू सबै कुरामा सहयोगीमा निर्भर हुँदैनन् । साँझको खानापछि सहयोगी दिदीलाई घर फर्किन हतार हुन्छ । विनीता र रोविन सँगै बसेर भाँडा माझ्नेदेखि सबै घरधन्दा सिध्याएर मात्र सुत्छन् । ‘मलाई समय मिल्यो भने खाना पकाउन मज्जा लाग्छ, कम्तीमा शनिबारको खाना मै बनाएर खुवाउँछु,’ विनीताले भनिन्, ‘उसलाई (रोविन) चिया मिठो पकाउन आउँछ ।’ राति बच्चाहरू सुतेपछि विनीता र रोविन कम्तीमा आधा घण्टा अनिवार्य कुरा गरेर बस्छन् । रातिको चिया बनाएर खुवाउने जिम्मा रोविनको भागमा परेको छ ।

 

 



2 thoughts on “सहकार्यले जुराएको एक सफल डाक्टर दम्पती

  1. डाकटर दम्पती को घर परीवार समाल्ने देखि पेशागत प्रगति तथा शेैक्षिक प्रगतिका बिषयका सहकार्य सम्बन्धि एक अर्कामा सहयोको भावना ।आदि आदान प्रदान सम्बन्धि ब्यबस्थापन गरेको कथन तथा बाक्यङ्स पढन पाउँदा ज्यदै खुशी लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *