स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन– सरकारी अस्पतालको उपचार शुल्कमा ‘एकरुपता’ होस्

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारका मातहातमा रहेका अस्पतालको सेवा शुल्कमा एकरुपता ल्याउन निर्देशन दिएका छन्।

स्वास्थ्य सेवा विभागको एक परिचयात्मक कार्यक्रममा कर्मचारीलाई सरकारी अस्पतालको शुल्कमा एकरुपता ल्याउन निर्देशन दिएका हुन्।

‘सरकारी अस्पतालको शुल्क फरक–फरक छ। उपचार शुल्कमा एकरुपता ल्याउने प्रक्रिया तत्काल अगाडि बढाउनुहोस्,’ मन्त्री खतिवडाले भने।

देशभरका सरकारी अस्पतालमा समेत बिरामी जाँचका लागि लाग्ने खर्चदेखि लिएर शल्यक्रियासम्मका एकै खालका सेवाका लागि पनि फरक, फरक मूल्य पाइन्छ।

‘आधारभूत र आकस्मिक सेवा स्वास्थ्यको मौलिक हकमा मात्रै राखेर भएन। त्यसलाई कार्योवन्यन गर्न तर्फ जुट्नुहोस्,’ मन्त्री खतिवडाले भने।

त्यसैगरी, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले कर्मचारीलाई आफ्नो जिम्मेवारी राम्रो सँग पुरा गर्ने अनुरोध गरेका छन्।

‘मन्त्री सफल हुने कि असफल हुने तपाईंहरु कै हातमा छ। आफ्नो जिम्मेवारी राम्रो सँग पूरा गर्नुहोला,’ राज्यमन्त्री खापुङले भने।

स्वास्थ्य सचिव डा. रोसन पोखरेलले सरकारका लक्षित कार्यक्रम समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

‘सरकारले लिएका स्वास्थ्यका लक्षित कार्यक्रमहरु समयमै सम्पन्न गर्नुहोला। सक्नुहुन्न भने बेलैमा जानकारी दिनुहोस्,’ स्वास्थ्य सचिव पोखरेलले भने।

स्वास्थ्य उपकरणमा विनियोजन भएका साम्रगी खरिद प्रक्रियाको काम चाडैं सम्पन्न गर्नुपर्ने डा. पोखरेलको भनाई थियो।

त्यसैगरी, मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले स्वास्थ्यको दरबन्दी कम भएको, नसर्ने रोगको प्रकोप बढ्दो रहेको, विभिन्न स्वास्थ्य समस्याको बारेमा नवनियुक्त मन्त्रीहरुलाई जानकारी बिफ्रिङ गराएका थिए।

विभागका महानिर्देशक डा. आरपी बिच्छाले विभागले गर्दै आएको काम र सुधार गर्नुपर्ने पक्षहरुलाई जोड दिएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *