काेराेना संक्रमणले आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

हेल्थपोस्ट नेपाल

आरबी डाइमण्ड ज्वेलर्सका सञ्चालक तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको ५६ वर्षको उमेरमा सोमबार निधन भएको हो। उनी एक सातादेखि मेडिसिटी अस्पताल भर्ना भएका थिए।

 

अध्यक्ष महर्जन कोरोना संक्रमणका कारण विगत केही दिनदेखि थलिएका थिए। उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो। परिवारका अन्य सदस्य कोरोना संक्रमणमुक्त भए पनि उनको भने कोभिड पहिचान भएको एक साता पनि नबित्दै उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो।

स्वास्थ्यमा असहज महसुस भएपछि महर्जनले गत असोज २६ मा पीसीआर परीक्षण गराएका थिए। पीसीआर परीक्षण गर्दा सीटी भ्यालु २१, २२ सहित उनको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपश्चात उनी मेडिसिटी अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदै गएपछि उनको सोमबार बिहान ११ बजे उपचारका क्रममा निधन भएको हो।

महर्जन साझा पार्टीका केन्द्रीय सदस्यसमेत थिए। उनी गत स्थानीय चुनावमा साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा समेत उठेका थिए। साझा पार्टीका तर्फबाट गत संसदीय निर्वाचनमा समानुपातिकतर्फको प्रतिनिधिसभा उम्मेदवार बनेका थिए। साथै, महर्जनले नेपाल चेम्बर अफ कमर्शको विभिन्न समितिमा बसेर काम गरिसकेका छन्। उनी नेपाल श्रीलंका चेम्बर अफ कमर्शका अध्यक्षसमेत हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *