अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको कोरोनाबाट निधन

हेल्थपोस्ट नेपाल

अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको कोरोनासँग सम्बन्धित जटिलताका कारण निधन भएको छ। पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ।

रिपब्लिकन दलसँग आवद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्वउच्च सैनिक अधिकारी पनि थिए। सन् २००० मा राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए।

उनी अफ्रिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनले कोभिडविरूद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।

सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एकमात्र अमेरिकी विदेशमन्त्री हुन्।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को जनवरी १८ मा उनले नेपाल भ्रमण गरेका थिए। त्यतिबेला उनले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *