एक महिलाले जन्म दिइन् ७ बच्चालाई

हेल्थपोस्ट नेपाल

पाकिस्तानमा एक महिलाले ७ बच्चालाई जन्म दिएकी छन्। खैबर पख्तूनख्वा प्रान्तको एबटावाद सहरस्थित जिन्ना इन्टरनेशनल अस्पतालमा बच्चालाई जन्म दिएकी हुन्। तिनीहरुमा चार छोरा र तीन छोरी छन्।

बिबिसी हिन्दीका अनुसार बटग्राम जिल्लाका यार मोहम्मदकी पत्नीले सात बच्चालाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार सातै शिशु र महिलाको अवस्था स्थिर छ। मोहम्मदले निजी क्लिनिकमा उपचार गराइरहेकोमा पत्नीमा स्वास्थ्य समस्या आएपछि अस्पताल पुर्‍याइएको बताएका छन्।

यसअघि यो दम्पतिका दुई छोरी छन्। मोहम्मदले आफूहरु संयुक्त परिवारमा रहने भएकाले बच्चाहरुको पालनपोषणमा कुनै समस्या नहुने बताएका छन्। अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा हिना फैयाजका अनुसार ती महिला पहिलोपटक शनिबार उनकोमा उपचार गराउन आएकी थिइन्।

अल्ट्रासाउण्ड गराउँदा उनको गर्भमा ५ वटा बच्चा रहेको थाहा भएको र गर्भावस्थाको ८ महिना बितिसकेको उनले बताइन्।

‘महिलाको ब्लड प्रेसर खतरनाक स्तरमा पुगिसकेको थियो । पेट निकै फुलेको थियो। यसअघिका २ बच्चा पनि अपरेशनबाट जन्माइएका थिए। पहिला टाँका लगाइएको ठाउँमा पनि उनलाई निकै दुखिरहेको थियो। टाँका र गर्भाशय फुट्ने सम्भावना थियो, जसबाट महिला र बच्चाको ज्यानै खतरामा पर्न सक्थ्यो,’डा फैयाजले भनिन्।

एक घण्टाको अपरेशनपछि बच्चा जन्माइएको थियो। उनले अल्ट्रासाउण्डबाट गर्भमा कति बच्चा छन् भन्ने पत्ता लाग्न नसक्ने भन्दै सातै बच्चालाई जीवितै जन्म दिइएको र उनीहरुलाई भिटामिन डी दिइएको बताइन्।

डा फैयाजका अनुसार महिलाले गर्भधारण गर्ने औषधिको प्रयोग गरेकी थिइन्। उनले भनिन्, ‘औषधिका कारण महिलाको शरीरमा एकभन्दा बढी अण्डा परिपक्व हुन्छन्, जसबाट एकै समयमा दुईभन्दा बढी गर्भ रहन सक्छन्।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *