९ दिनमा ९ सय बढी सवारी दुर्घटना, ११२ को मृत्यु

हेल्थपोस्ट नेपाल

सवारी साधन सँधै चल्ने गर्छ, यात्रुहरु पनि आफ्नो गन्तव्यतर्फ सँधै ओहोरदोहोर गरि रहन्छन्। समान्य अवस्थामा सवारी दुर्घटना फाटफुट भएपनि चाडवाडको बेला सवारी दुर्घटना हुने् समाचार बढी सुनिन्छ।

सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले बर्सेनि करोडौं रुपियाँ खर्च गरे पनि लापरबाही र सडकको दूरवस्थाका कारण दुर्घटनामा कमी आउन सकेको छैन्। नेपालमा बर्सेनि सडक दुर्घटनामा सयौंले ज्यान गुमाउने गरेको प्रहरीको आँकडाले देखाउँछ।

 

प्रहरीे प्रधान कार्यालयले असोज २१ गते घटस्थापनको दिनदेखि असोज ३० गते टिकाको दिनसम्मा सवारी दुर्घटनामा परी १ सय १२ जना नागरिकले ज्यान गुुमाएको जनाएको छ।

प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ९ दिनको अवधिमा ९ सय ३१ सवारी दुर्घटनामा परेको देखिन्छ। जसमा १५ सय ७७ जना यात्रु घाइते भएका छन् भने १ सय १२ जनाले ज्यान गुमाएका छन्। कार्यालयले दिएको तथ्याङ्कअनुसार यसअवधिमा दैनिक सरदर १२ / १३ जनाको मृत्यु भएकोे छ भने १७५ / १७६ जना घाइते भएका छन्।

प्रदेश २ मा सबैभन्दा बढी घटना

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रदेश २ मा सवारी दुर्घटना भएको छ।

प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता डिआइजी बसन्त लामाले यस वर्ष दसैंमा प्रदेश २ मा २ सय ८ सवारी साधन दुर्घटना भएको जानकारी दिए। उनकाअनुसार ती सवारी दुर्घटनाहरूमा सरदार २ / ३ जनाको मृत्यु भएको छ।

डिआइजी लामाले प्रदेश २ मा यसअवधिमा भएका सवारी दुर्घटनामा २० जनाले ज्यान गुमाएको र ३ सय २५ जना घाइते भएको बताए।

सबैभन्दा कम सवारी दुर्घटना कर्णाली प्रदेशमा भएको देखिन्छ। कर्णाली प्रदेशमा १६ वटा सवारी साधन दुर्घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा ३४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। सवारी दुर्घटना कम भएपनि कर्णाली प्रदेशमा मृतकको संख्या भने बढी छ। यस प्रदेशमा सरदरमा दैनिक ३ / ४ जनाको मृत्यु भएको छ।

तथ्यांकले पनि मानिसहरुको आवतजावत बढी हुँदा दुर्घटनाको दर बढेको देखाउँछ। सीट क्षमता भन्दा बढी यात्रु चढाउनु समेत दुर्घटनाको कारण देखिएको छ।

गत वर्षको तुलना यस वर्ष दुर्घटनामा मृत्यु हुने २ जना कम भए पनि सुधारात्मक अवस्था मान्न नसकिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत वर्ष दसैंमा घटस्थापनादेखि पूर्णिमासम्म सवारी दुर्घटनामा परी १ सय १४ जनाको ज्यान गएको थियो भने ८ सय ५६ वटा दुर्घटनामा १२ सय ३६ जना घाइते भएका थिए।

त्यस्तै ०७६ सालको दसैंमा ७ सय दुर्घटनामा १ सय ११ जनाको मृत्यु भएको थियो भने १ हजार १० जना घाइते भएका थिए। त्यस्तै, ०७६ को दसैंमा १ सय २९ जनाको मृत्यु भएको थियो। ५ सय ६८ दुर्घटनामा परी ८ सय ५७ जना घाइते भएका थिए।

प्रहरी निमित्त प्रवक्ता लामाका अनुसार दसैंमा यात्रुको चाप बढ्ने तर त्यसलाई थेग्न सक्ने गरी सवारी साधन र सडक नहुँदा दुर्घटना हुनेगरेको छ।

सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मतसम्भार नहुनु, क्षमताभन्दा बढी यात्रु चढाउनेलगायतका कारण दुर्घटना हुने गरेको उनको भनाइ छ।

‘दसैंको बेला यात्रुको अत्यधिक चाप हुन्छ। तर, गाडी थपिएका हुँदैनन्। थपिए पनि ती गाडीहरू लामो दूरीसम्म आवतजावत गरेको हुँदैन्,’ उनले भने,‘सडक पनि पहिलेकै जतिमात्रै हो। जहाँ सवारी चाप बढ्छ, त्यहाँ दुर्घटनाको सम्भावना त्यसै पनि बढ्छ।’

यात्रुको चाप बढेपछि एउटै सवारी साधन पटक–पटक ओहोर दोहोर गरेको पनि पाइएको उनले बताए।

‘यात्रुको संख्या एकैपटक बढेपछि एउटै सवारी एकैदिन पटक–पटक प्रयोग हुन्छ। चालक एउटै हुन्छ,’ उनले भने,‘एउटै सवारीलाई एउटै चालकले दिनभर कुदाउने गरेको पनि पाइएको छ। सवारी साधन नियमित मर्मत हुन पाउँदैन। त्यसले गर्दा पनि दुर्घटना हुने गरेको छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *