बोक्सीको आरोपमा भाउजुको हत्या गर्ने पक्राउ

हेल्थपोस्ट नेपाल

बोक्सी भन्दै आफ्नै भाउजुको हत्यो गरेको अभियोगमा प्रहरीले महोत्तरीबाट एकजनालाई पक्राउ गरेको छ।

जिल्लाको महोत्तरी गाउँपालिका–३ मडईकी ४२ वर्षीया शीलादेवी झाको हत्या गरेको आरोपमा प्रहरीले देवर संजय झालाई पक्राउ गरेको हो। पक्राउ परेका संजयलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार सार्वजनिक गरेको छ।

 

दुई दिनअघि घरमा सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी शीलाको हत्यो भएको थियो।

हाल जनकपुरधाम–२४ सोनापाडामा बसेर ज्यालादारी काम गरिरहेका संजयले बिहीबार बिहान करिब ३ बजे हथौडा प्रहार गरी भाउजु शीलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

आचार्यका अनुसार बोक्सी र आर्थिक लेनदेनका कारण शीलाको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘भाउजु शीलाले टुनामुना गरेर आफ्नी श्रीमती रिन्कु झाको गर्भ तुहाएको आशंकामा उसले हत्या गरेको देखिन्छ,’ प्रहरी उपरीक्षक आचार्यले भने,‘शीलाले दिएको केरा खाँदा श्रीमतीको गर्भ तुहिएको उसको बुझाइ देखियो। पटक–पटक बिरामी हुँदा ठीक नभएपछि भाउजुले टुनामुना गरेको आशंकामा उसले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’

आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

गएको असारमा विहे गरेका संजयले श्रीमतीलाई भाउजु शीलादेवीसँगै राखेका थिए। पटक–पटक बिरामी पर्दै आएकी र सोहीबीच गर्भ तुहिएपछि उनले श्रीमतीलाई झाँक्री नजिक लगेका थिए।

झाँक्री नजिक रिन्कुले ‘भुत’ खेल्दै ‘म शीलादेवीको माहिलो छोरा कृष्णकुमार झाँ हुँ। शीलाले आफ्नो श्रीमान लालकिशोरलाई बोक्सी गरी मारेको र रिन्कुको गर्भ तुहाएर उनलाई पनि मार्न लागेको’ बताएको संजयले प्रहरीसमक्ष बयान दिएको छ।

झाँक्रीसामु रिन्कुले भनेको कुरालाई सत्य मानेर आफ्नो परिवारको सुरक्षाका लागि अन्धविश्वासमा परेरे संजयले भाउजुको हत्या गरेको हुनसक्ने प्रहरी उपरीक्षक आचार्यले बताए।

प्रहरीले शीलादेवी हत्याको अर्को पाटो आर्थिक लेनदेनलाई पनि लिएको छ। शीलादेवीर्ला संजयले १२ लाख ३९ हजार रूपैयाँ सापटी दिएका थिए। सापटी लिएको फिर्ता रकम फिर्ता नगरेपछि संजयले भाउजु शीलादेवीको हत्या गरेको हुनसक्ने प्रहरी उपरीक्षक आचार्यले बताए।

यद्यपि हत्याको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *