अझै कति दिन पर्छ पानी? यसाे भन्छन् मौसमविद्

हेल्थपोस्ट नेपाल

पश्चिमी वायुको पहिलो झड्काले नै यस वर्ष झन्डै एक साता वर्षा गराउने भएको छ। मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती चरणमै आफ्नो सक्रियता देखाउँदै एक साता लामो वर्षा गराउने भएको हो।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका अनुसार पश्चिमी वायुसँगै यतिबेला नेपालमा अन्य दुई मौसमी प्रणालीको प्रभाव पनि परेको छ।

 

जसअनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखा, मध्य प्रदेशको तेलङ्गनामा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको वर्षा प्रणालीको गहिरो असर नेपालमा देखिएको हो।

यही अवसर छोप्दै पश्चिमी वायुले पूर्वीय वायुलाई पूर्णतया विस्थापित गरिसकेकाले अब देशभर आफ्नो प्रभाव जमाउने प्रयत्न गरिरहेको छ। योसँगै पोस्ट मनसुनको सक्रियता र हिउँदे वर्षाको आगमनको संकेत दिएको छ।

तीनवटै मौसम प्रणालीका कारण शनिबार रातिदेखि नै देशका अधिकांश स्थानमा बदली सुरु भएको छ । केही स्थानमा वर्षा सुरु भइसकेको छ।

यो क्रम झन्डै साताभर कायम रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। उनका अनुसार सोमबार र मंगलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायतका पश्चिमी भेगमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । मंगलबारदेखि प्रदेश १ का धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने आकलन गरिएको छ।

बुधबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्। साथै नेपालका उच्च हिमाली भेगमा हिमपातको बलियो सम्भावना छ।

मौसमविद् बासीका अनुसार बिहीबारदेखि मौसममा सुधार हुनेछ। तथापि देशका केही भेगमा हल्का वर्षा भने अझै केही दिन कायम रहने अनुमान गरिएको छ।

चाडबाडको समय रहेको अवस्थामा देखिएको मौसमी बदलावले जनजीवनमा असर पार्न सक्ने भएकाले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न मौसम पूर्वानुमान महाशाखाले सुझाएको छ। मध्यम तथा भारी वर्षा हुने इलाकामा बाढी तथा पहिरो जान सक्ने भएकाले थप सतर्कता अपनाउन पनि भनिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *