कपिलवस्तुमा झाडापखालाले ८८५ जना बिरामी, चार जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा झाडापखाला तथा बान्ताको प्रकोप नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ती स्थानमा यही असोज १८ गतेदेखि प्रकोप सुरु हो।

प्रकोप सुरु भएयता आजसम्म झाडापखाला तथा बान्ताबाट ८८५ जना संक्रमित भइसकेको छ। संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना ४५ वर्षीय पुरुष, एक जना ७ वर्षीय बालक, एक जना ५ वर्षीया बालिका र एक जना दुई वर्षीय बालक रहेका छन्।

स्थानिय शिवराज अस्पतालमा आज २५ जना झाडापखाला तथा बान्ताका बिरामी उपचाररत रहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हालसम्म ८१९ जना झाडापखाला तथा बान्ताका बिरामी उपचार पश्चात निको भइ डिस्चार्ज भइसकेको छन्।

‘प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामाग्रीहरु स्थानीय, प्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संघ संस्थाहरुको समन्वयमा व्यवस्थापन भइरहेको छ। हाल प्रकोप नियन्त्रणमा रहेको छ,’ पौडेलले भने।

विश्व स्वास्थ्य संगठनको समन्वयमा बिभिन्न मितिहरुमा संकलन गरिएका दिसाका नमुनाहरू लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा ‘भाइब्रियो ०१ ओगावा’ हैजा देखिएको छ । प्रभावित क्षेत्रमा संकलन गरिएको खानेपानीका १५ नमुनामध्ये ९ वटामा इ.कोली देखापरेको मन्त्रालयले जनाएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *