भोकमरी सूचकांकमा नेपालभन्दा भारतको अवस्था खराब

हेल्थपोस्ट नेपाल

वैश्विक भोकमरीको सूचकांक २०२१ मा भारत ११६ औँ मुलुकको सूचीमा १०१ औँ स्थानमा झरेको छ। यसअघि भारत ९४ औँ स्थानमा थियो। भारत यो सूचीमा नेपाल, पाकिस्तान र बंगलादेशभन्दा पनि पछाडि परेको छ। नेपाल र बंगलादेश ७६ औँ तथा पाकिस्तान ९२ औँ स्थानमा रहेको छ।

‘ग्लोबल हंगर इन्डेक्स’ को वेबसाइटमा दिइएको जानकारीअनुसार यस सूचीमा पाँचभन्दा कम भोकमरीको अङ्क राख्ने चीन, ब्राजिल र कुवेतसहित १८ मुलुक शीर्ष स्थानमा छ।

फरक–फरक मुलुकमा मानिसले कस्तो खाने कुरा र कतिमात्रामा प्राप्त गर्दछ, ‘ग्लोबल हंगर इन्डेक्स’ त्यो देखाउने माध्यम हो। ‘ग्लोबल हंगर इन्डेक्स’ को सूचकांक हरेक वर्ष नयाँ तथ्यांकका साथ जारी गरिन्छ।

यस सूचकांकको माध्यमले विश्वभर भोकविरूद्ध चलाइएका अभियानको उपलब्धि र असफलताहरू बताइन्छ।

यो प्रतिवेदन आयरलैन्डको सहायता एजेन्सी कन्सर्न वल्र्डवाइड र जर्मनीको संगठन वेल्ट हंगर हिल्फले मिलेर तयार पारेको हो। प्रतिवेदनमा भारतको भोकमरीको स्तरलाई लिएर चिन्ता जनाइएको छ।

सन् २०२० मा १०७ मुलुकको सूचीमा भारत ९४ औँ स्थानमा थियो। प्रतिवेदनकाअनुसार भारतमा भोकमरीको थप समस्या देखिएको छ। सन् २००० मा उसको अङ्क ३८.८ थियो जुन २०१२ देखि २०२१ का बीच २८.८ – २७.५ सम्म रह्यो।

ग्लोबल हंगर इन्डेक्स अल्पपोषण, कुपोषण, बाल मृत्युदर लगायतका आधारमा तय गरिन्छ।

ग्लोबल हंगर इन्डेक्स बढी हुनुको अर्थ त्यस मुलुकमा भोकको ज्यादै समस्या हुन्छ। त्यसैगरी कम अङ्क भएको मुलुकको स्थिति राम्रो मानिन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *