कोरोना भाइरस कहाँ र कसरी उत्पत्ति भयो? डब्ल्युएचओले बनायो नयाँ अनुसन्धान टोली

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस उत्पत्ति स्थान एकीन गर्नका लागि विश्व स्वास्थय संगठनले एउटा नयाँ कार्यदल बनाएको छ। ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’का लागि डब्ल्युएचओले २६ जना विज्ञहरूको नाम पनि टुङ्गो लगाएको छ।

यो टोलीको कामलाई उसले कोरोना भाइरसको उत्पत्ति स्थल पत्ता लगाउने ‘अन्तिम मौका’ भनेको छ।

सन् २०१९को अन्त्यतिर पहिलोचोटी चीनको वुहान सहरमा पुष्टि भएको यो भाइरस पहिलोपटक कहाँ र कसरी उत्पत्ति भयो भन्नेबारे अझै विवाद नै छ। अमेरिका तथा अरू कैयौं राष्ट्रसँग यसको उत्पत्तिका बारेमा चीनसँग वाकयुद्ध नै चलेको थियो।

अमेरिका र भारतजस्ता देशहरूले सुरू सुरूमा त यो भाइरसलाई ‘चाइनिज भाइरस’ भनेर नामाकरण पनि गरेका थिए।

डब्ल्यूएचओको यो नयाँ टोलीले वुहानमा कुनै जनावर वा पशुपंक्षीहरूबाट मानिसमा सरेको हो वा यो कोरोना भाइरस कुनै दुर्घटनाजन्य क्रियाकलापका कारण कुनै प्रयोगशालाबाट ‘लिक’ भएको हो भन्नेबारेमा गहिरो अध्ययन गर्नेछ।

सुरूसुरूमा अमेरिकाले यस्तै आरोप लगाउँदा चिनले त्यसको कडा शब्दमा खण्डन गरेको थियो। तत्कालीन अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले त्यो भाइरस चीनकै प्रयोगशालाबाट बाहिरिएको बताउँदै आएका थिए। उनले त लामो समयसम्म पनि कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्ने गरेका थिए।

गत वर्षको फेब्रुअरिमा चीन पुगेको डब्ल्यूएचओकै एउटा टोलीले त्यो भाइरस सम्भवत: चमेराजस्ता कुनै पंक्षीबाट सरेको हुनसक्ने प्रारम्भिक निर्क्योल निकालेको थियो। तर त्यसको अन्तिम निष्कर्षमा पुग्नका लागि थप धेरै कामहरू गर्नुपर्ने प्रतिवेदन टोलीले बुझाएको थियो।

यो बीचमा चीनले अध्ययन अनुसन्धानका लागि पर्याप्त मात्रामा सहकार्य नगरेको आरोप पनि लाग्दै आएको थियो। डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गेहब्रयससले चीन पारदर्शी नभएको र पर्याप्त तथ्याङ्कहरू उपलब्ध नगराएको बताएका थिए।

त्यसको पनि खण्डन गर्दै चीनले कोरोना भाइरसबारे कुनै पनि अध्ययनका लागि आफूले कुनै रोकतोक नलगाएको बताएको थियो।

अहिले डब्ल्यूएचओले बनाएको बैज्ञानिक तथा विज्ञहरूको नयाँ टोलीले कोरोना भाइरस तथा अरू पनि प्याथोजिन्सहरूको अध्ययन र अनुसन्धान गर्नेछ।

‘यसले भविष्य आउन र जोखिम फैलिनसक्ने अरू नयाँ प्याथोजिन्सहरू पनि कहाँ कहाँबाट कसरी उत्पत्ति हुन्छन् भन्नेबारेमा थाहा हुनेछ’ टेड्रोसले भनेका छन्।

एउटा साइन्स जर्नलमा महानिर्देशक टेड्रोससहित अरू पनि विज्ञहरूले एउटा संयुक्त आलेख छापेका छन् र त्यसमा भनेका छन् ‘कोरोना भाइरस प्रयोगशाला दुर्घटनाबाट पनि उत्पत्ति भएको हुनसक्छ भन्ने कुरालाई नकार्न सकिंदैन।’

डब्ल्यूएचओको यो नयाँ मिसनबारेमा जेनेभास्थित संयुक्तराष्ट्र संघका लागि चिनियाँ दूत चेन सुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् र भनेका छन् ‘अनुसन्धान टोलीको कामलाई राजनीतिकरण गर्न हुँदैन। तर यो अरू पनि ठाउँमा टोलीहरू पठाउने बेला हो।’ बिबिसीकाे सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *