२५ दिनको छोरा छोडी दुर्गममा उपचार दिने डा. किरण

जीवनमा कति धेरै हन्डर खाइन् उनले। पढाईका लागि गर्नुपरेको संघर्ष देखि दुर्गमको बसाई सबै भोगिन्। तर यी दुःख उनको लागि नगन्य भयो जब नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवका लागि नियुक्त गरियो।

उनी हुन् पूर्व स्वास्थ्य सचिव प्रा.डा. किरण रेग्मी। पुरुषहरुको बाहुल्यता भएको राजनैतिक तथा सरकारी उच्च तहमा पुग्ने उनको कुनै सपना थिएन, तर समय र परिस्थितिले उनलाई त्यहाँसम्म पुर्‍यायो।

उनले सोचेकी पनि थिइनन्, उनको जीवनभरको मेहेनत र योग्यताले स्वास्थ्य सचिव बन्ने स्थानमा पुर्‍याउँछ।

सरकारी सेवा प्रवेश गरे देखिनै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचारमा खटिएकी उनले स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्ने विचार नै आएको थिएन। भाग्यवश भनौं, देशभरकै स्वास्थ्य विज्ञहरुमा उनीमात्र एक्लो व्यक्ति थिए, जो स्वास्थ्य सचिवको योग्यता पुगेका उम्मेदवार थिए।

‘मैले कहिले कल्पना पनि गरेको थिइनँ म स्वास्थ्य सचिव बन्छु भनेर। त्यतिबेला सचिव पदको लागि योग्यता पूर्ण भएको म मात्र एक्लो व्यक्ति रहेछु,’ उनले भनिन्।

हुन त त्यतिबेला सचिव पदका लागि योग्यता पुगेका स्वास्थ्य विज्ञ नभएका होइनन्, तर, ‘स्वास्थ्य सेवा ऐन’ अनुसारको मापदण्ड नपुगेका कारण कोही पनि सचिव हुन योग्य भएनन्।

‘सचिव नियुक्त हुन चाहिने सम्पूर्ण मापदण्ड पूरा थियो मेरो। मसँग चहिने डिग्री, सिनियर, बाहिर जिल्लामा बसेर सेवा पु¥याएको तथा प्रशासनिक तालिम (वृद्धि विकासको तालिम) लिएको थिएँ। यो तालिम स्वास्थ्य सेवा ऐन अन्र्तगत अनिवार्य गरिएको रहेछ। म भन्दा धेरै अनुभव भएका विज्ञहरु थिए, तर उहाँहरुले वृद्धि विकासको तालिम नलिएकै कारण म मात्र एक्लो योग्य व्यक्ति परेछु,’ उनले भनिन्।

तर भाग्यले जुरेको सचिव पद राजनैतिक पार्टीबाट जुरेन।

उनलाई स्वास्थ्य सचिव बनाउने पक्षमा नरहेका व्यक्तिहरु सक्रिय भए।

‘नियुक्त हुनुअघि मलाई आपत्को पहाड नै आइपर्‍याे। त्यतिबेलाको स्वास्थ्य मन्त्रीलाई समेत मलाई सचिव बनाउन मन नभएको रहेछ। मलाई हरेक दिन प्रश्न गर्ने, स्पष्टिकरण माग गर्न थाले,’ उनले भने।

‘मैले कहिल्यै भ्रष्टचार गरेको थिइनँ। मन्त्रीले सोधे त्यसको सही जवाफ दिएँ। मलाई दण्डीत गर्ने कुनै ठाउँ नभेटिएपछि मलाई अन्तै पोष्टिङ गरिदिए। मलाई आफैले सिकाएको सेकेण्ड काल्स अफिसरको अण्डरमा भरतपुरमा पोष्टिङ गरिदिए,’ उनले भनिन्।

तर, उनको कामलाई नियालिरहेका विभिन्न गैरसरकारी संस्थाको लबिङपछि मन्त्रीले उनलाई काजमा स्वास्थ्य मन्त्रालय राखे। मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी दिइएन। उनलाई सचिवको ठाउँमा नभई मन्त्रालयको एक कुनामा बस्ने ठाउँ दिइयो।

उनलाई अस्पतालका निर्देशकहरुको मिटिङमा उपस्थित गराई अपमान समेत गरे।

सचिव हुनुको खुशी भन्दा दुई वर्ष काम नै नपाई काजमा बस्नुपर्ने दुःख उनले झेलिन्। राजनैतिक नियुक्त गरी आएका मन्त्रीको नजरमा उनी कहिल्यै पर्न सकिन।

त्यसैले आफ्नो अधिकारका लागि उनले सर्वोच्च अदालतमा मुद्धा हालिन्।

मन्त्रीले उनको ठाउँमा शान्ता बहादुर श्रेष्ठलाई सचिव बनाइदिए। ‘मेरो दुई वर्ष सचिव हुने अवधि खेर पठादियो,’ रेग्मीले भनिन्।

तर, जति चालझेल गर्दा पनि उनलाई हटाउन सकेनन् र अन्त्यमा उनलाई सचिव नियुक्त गरियो। ‘मैले सचिव भएपछि आफ्नो इमान्दारिता कमाएर रिटायर भएँ।’

सरकारी सेवामा रेग्मीको योगदान

रेग्मीले २९ वर्षसम्म सरकारी सेवामा आफ्नो योग्दान पुर्‍याएकी छिन्।

उनले आफ्नो स्वास्थ्य सेवाको करियर नै बागलुङ अस्पतालबाट सुरु गरिन्। उनले आफ्नो २५ दिनको सन्तानलाई आमाको जिम्मा लगाएर बागलुङमा सेवा दिन हिँडिन्।

त्यतिबेला बागलुङ जाने सडक पनि थिएन। २५ दिनको सुत्केरी भएर पनि ४ घण्टा उकालो हिँडेर अस्पताल पुगिन्।

‘बच्चा पाउनैपर्ने काम जस्तो लाग्थ्यो मलाई। तर दुर्गममा गएर काम गर्ने मेरो जोस र जाँगर तथा उमेर भएकै कारण त्यहाँ गएर काम गर्ने उत्साहले बागलुङ पु¥यायो,’ उनले भनिन्।

जीवनमा आमा हुने सपना भन्दा उनलाई आफ्नो करियर कसरी अगाडी बढाउने भन्नेमा बढि चिन्तन थियो, जसको कारण दुर्गममा बस्दा बालबच्चा हुर्काउने र सुगममा आउँदा पढ्ने योजना बुनेकी थिइन्।

उनले योजना गरे अनुरुप नै जीवनका पानाहरु पल्टिदै गए।

बागलुङमा महिला चिकित्सक भएर काम गर्दा थुप्रै अनुभव बटुलिन।

महिला चिकित्सक अस्पतालमा आएको सुनेर थुप्रै महिला उपचारमा आए। अस्पतालको सबै भन्दा उच्च पदमा रहेर उनले काम गरिन्।

उनलाई हेर्न र भेट्न भनेर टाढा टाढाबाट डोकोमा बोकेर पनि बिरामीहरु आउन थाले।

त्यतिबेला त्यहाँका स्थानीयले महिला चिकित्सक भन्ने बित्तिकै पुरुष चिकित्सक जस्तै कपाल सेतै फुलेको, मोटो, अग्लो शरीरिक बनावटको अनुमान गरेका थिए, तर उनीलाई देखेर बालखी चिकित्सकसम्म भन्न भ्याए।

‘म पातलो, भर्खरको युवती तथा सानोभएकै कारण मानिसहरुले कस्तो खालको चिकित्सक भनेर हेर्न आएको र यिनी त बलखी पो रहेछ भनेर प्रतिकृया दिएका थिए,’ उनी सम्झिन्छिन्।

तर उनको उपचार तथा सेवा पाएपछि मानिसले विश्वास गर्दै गएको उनको अनुभव छ।

उनीले त्यहाँ एक वर्ष काम गरिन्। त्यहाँको बसाईमा महिलामा धेरै समस्या भएको पाइन्। छोरा पाउनका लागि त्यहाँका महिलाले छिटो छिटो गर्भधारण गर्ने तथा बच्चा धेरै जन्माउने गर्दथे जसका कारण उनीहरुमा आङ खस्ने (पाठेघर तल झर्ने) समस्या निकै देखिएको थियो।

त्यहाँका महिलाहरुलाई आँङ खस्ने समस्या हो भनेर पनि थाहा थिए। अधिकाशं महिलाहरु उमेर ढल्किसकेका, पाठेघर बाहिरै निस्किन लागेको, तिघ्राले घस्रेर घाउ भइसकेको, रगत तथा पिप जमेको, तथा गन्हाउन थालेर सामाजिक बहिस्कार भएपछि बल्ल अस्पतालमा आउने गर्दथे।

‘यस्तो समस्या त्यहाँका महिलामा बिकराल रहेछ। उनीहरुले यसलाई समस्या नै नलाग्ने रहेछ भने यस्तो हुनु सामान्य हो भन्ने सोच रहेछ। यसबारे जनचेतना फैलाउन निकै समय लाग्यो। त्यहाँका महिलामा जनचेतना फैलाउन पाउँदा खुसी छु,’ उनले भनिन्।

त्यतिबेला उनलाई शल्यक्रिया गर्न पनि आउँदैनथ्यो भने अस्पतालमा शल्यक्रिया गर्ने साधन पनि थिएन। तर उनले आफूले जानेको उपचार गरिन्। पाठेघर ठाउँमा राख्नका लागि रिङ (बाला) राखेर घिस्रने र घाउ हुने, गन्हाउने समस्याबाट भने महिलाहरुलाई मुक्ति दिलाइन्।

‘त्यो दुख सम्झेरै वा बुझेर मैले परिवार कल्याण महाशाखाको प्रमुख हुँदा यो समस्यालाई व्यवस्थित गराउने काम गरेको थिएँ। त्यतिबेला सरकारले महिलाहरुको निशुल्क शल्यक्रिया गर्ने निर्णय भइसकेको थियो। तर यो यति अव्यस्थित भयो कि जहाँ पनि शल्यक्रिया गरिदिने, विद्यालयमा पनि क्याप राखेर उपचार गर्ने, दैनिक एक चिकित्सकले २० देखि ३० जना महिलाको शल्यक्रियाले गर्दा गुणस्तर खस्किएको थियो।

शल्यक्रिया गरेका महिलाहरुको पुन समस्या उस्तै हुन थालेको थियो भने महिलामा संक्रमण हुने समस्या निकै बढेको थियो।

यस्तो समस्या उत्पन्न हुन थालेपछि, रेग्मीले यसको निर्देशिका बनाइन् र यस समस्यालाई व्यवस्थित बनाइन्।

बागलुङको बसाईपछि उनी धनगडी लागिन् जहाँ तीन वर्षसम्म उपचार सेवा दिइन्। निकै गर्मी हुने ठाउँमा उनलाई निकै कठिन भयो, तर हार मानिनन्। उनले त्यहाँको बसाईमै आफ्नो स्नातकोत्तर पढाई सकिन्।

उनी सुदुरपश्चिममा पनि गएर काम गरिन्, जहाँ महिला र पुरुषमा एकदम भेदभभाव देखिन्। झन् महिला सुत्केरी भएपछि उनलाई गोठमा सुताउने, १० देखि १२ दिनसम्म सुख्खा भात नुन हालेर दिने गर्दथे। पोषिलो खानेकुरा खाँदा बच्चाको स्वास्थ्य बिग्रन्छ भनेर भर्खरका सुत्केरीलाई भोकै राखिदिन्थे भने छोरा जन्माएका महिलालाई झनै खान नदिने चलन रहेछ।

‘हालसम्म पनि त्यहाँ पूर्ण रुपमा त्यस्तो चलन गएको छैन। संसदमा पोषणका कुरा उठेपनि स्वास्थ्य मन्त्रालय तथा सामाजिक कल्याण मन्त्रालयले हेर्न जरुरी छ,’ उनले भने।

उनले आफ्नो अधिकाशं जीवन चितवनमा बिताइन्।

२२ वर्षसम्म दुर्गम जिल्लामा काम गरेर बल्ल काठमाडौं आउने मौका पाइन्। उनी काठमाडांैमा परिवार कल्याण माहाशाखाको डाइरेक्टर बनिन्। तर राजनैतिक भागबन्डा नमिलेका कारण दुई महिनामै उनलाई बिरगञ्ज सरुवा गरियो।

चितवनमा आफ्नो नाम चलाइसकेका रेग्मीलाई काठमाडौं ल्याएर फेरी अन्त सारेकोमा चित्त बुझेन। त्यसैले उनले आफूलाई उपत्यकाभित्रै राखिदिन अनुरोध गरेपछि उनलाई जर्बजस्ती परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरियो जहाँ उनले दुई वर्ष काम गरिन्।

त्यसपछि पुन परिवारकल्याण माहाशाखाको प्रमुखका रुपमा राखियो। उनले त्यहाँ हुँदा निर्देशिका बनाउने काम गरिन्। त्यसपछि उनलाई मन्त्रालयको सचिव हुने अवसर मिल्यो।

बाल्यकाल

राष्ट्रकवि माधव घिमिरेकी पाँचौ छोरी हुन् रेग्मी। काठमाडौंको ठमेलमा जन्मेकी उनी आफ्नो घर भएपछि बल्ल लाजिम्पाटमा बसाई सरेकी हुन्। विद्यालय अध्ययन गर्दादेखि नै मेधावि विद्यार्थी रहेकी उनी सधैं प्रथम हुने गर्थिन्।

बाल्यकालमा साथीभाईले हेप्ने तथा पिट्ने कारण विद्यालय जान नमानेर आधा बाटोबाटै घर फर्किन्थिन्। ‘घर फकेर ढोका पछाडि लुकेर बस्थेँ। मलाई साथीहरुले पिटे, विद्यालय नजाने भनेर बुबालाई भन्ने आँट नै आएन,’ उनले भनिन्।

पाँच दिदिबहिनी भएका कारण उनका बुबालाई को कति कक्षामा अध्ययन गर्ने थाहा पनि थिएन, त्यसैकारण सबै भन्दा सानी उनी दिदीहरुकै पछि लागेर विद्यालय गइन्, तर विद्यालयमा राम्रो नभएपछि सँधै बहाना बनाउन थालिन्।

पछि उनी दिनभर ढोकामा लुकेको थाहा पाएपछि पढ्नेबेला नभएको बुझेर घरमै खेल्न दिए। उनका बुबाले शरीरिक विकास नभएसम्म मानसिक विकास हुँदैन भन्ने बुझेर रेग्मी पढाई बुझ्ने भएपछि मात्र विद्यालय पठाए।

उनले पछि पढाईमा पनि राम्रो हुँदै गएपछि विद्यालयका हेडसरले दुई पटकसम्म माथिल्लो कक्षामा पुर्‍याए। उनले ७ वर्षमात्र विद्यालयमा अध्ययन गरे।

आर्थिक अवस्था कम्जोर भएका कारण उनले साइन्स पढ्ने धोकोलाई थाँती राखेर पद्यमकन्या क्याम्पसमा ‘आई ए’ पढ्न लागेकी थिइन्। तर संयोगले उनका हेडमास्टर्सले उनलाई विज्ञान विषय नै लिएर पढ्न जोड दिए भने घरका परिवारलाई पनि उनका गुरुले नै सम्झाए।

त्यसपछि उनको चिकित्सक बन्ने सपनाको ढोका खोल्यो र अमृत साइन्स क्याम्पसमा भर्ना भइन्।

तर उनले आइएससी सकेर मेडिसिन पढ्न रहर हुँदा हुँदै घरपरिवारले रोक्न खोजे। छोरी मान्छे धेरै पढेर के गर्ने, बेलैमा विवाह गर्नुपर्छ भनेर उनलाई तनाव दिइरहे।

करिअरमा दत्तचित्त भएर लागेकी उनले विवाह गर्दै नगर्ने भनेर जिद्धि गरेपछि उनको भारतमा गएर पढाई गर्ने टिकट मिल्यो।

भारतमा अध्ययन गर्न जाँदा पनि बीच बीचमा उनलाई विवाहको प्रस्ताव आउने र घरमा आएर विवाह गर्न जोड दिइनै रहेका थिए।

धेरै तनाब भएपछि उनले बुबालाई आफ्नो पढाई सकेर आएपछि परिवारले रोजेको केटासँगै विवाह गर्ने भनेर सम्झाएपछि बल्ल उनले आफ्नो अध्ययन पुरा गर्न पाइन्। २३ वर्षको उमेरमा चिकित्सकसँगै उनको विवाह भयो।

अध्ययन

उनले विभिन्न देशमा गएर अध्ययन पुरा गरेकी छिन्। एमबिबिएस भारतको राँची विश्वविद्यालयबाट गरिन् भने गाइनो तथा ओब्सटेट्रिक विषमा एमडि गरेकी हुन्।

त्यस्तै, उनले स्कटल्याण्डमा गएर प्रजनन स्वास्थ्यमा एमपिएच गरिन् भने पिएचडी बेलायत र अष्ट्रेलियाबाट गरिन्।

त्यस्तै २००५ मा हार्वाड विश्वविद्यालयबाट पोष्ट डक्टोरेट गरेकी हुन्। हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययापन गराउँछिन् भने नीति तथा कार्यक्रम बनाउन मद्धत पनि गर्छिन्।

परिवारको साथ

उनले आफू यहाँसम्म आइपुगेकोमा आफ्नो श्रीमान् तथा परिवारको साथ रहेको बताइन्। चिकित्सकसँगै विवाह भएका कारण उनलाई अध्ययन गर्न तथा काम गर्न पनि सधैं साथ पाइरहिन्।

बागलुङमा जागिर खान जाँदा श्रीमान्, श्रीमती दुबैसँगै गएका थिए। दुबैले २५ दिनको छोरा घरमा छोडेर हिँडेका थिए।

त्यस्तै, हरेक अध्ययनमा श्रीमान्ले उनलाई नै प्राथमिकता दिने र जोड गरेर यहाँसम्म पुग्न मद्धत गरेको उनी बताउँछिन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *