नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।

उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ। उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए।

साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्नु संक्रमण घट्नुको अर्को कारण भएको उनले बताए।

शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण देखिएको थियो। अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र संक्रमण देखिने गरेको उनले बताए। हिजो सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका थिए। पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन्।

नेपालमा संक्रमण दर १८।७ प्रतिशत र संक्रमणमुक्त हुने दर ९६।७ प्रतिशत रहेको छ। त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ। असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए।

यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ। पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ। १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ।

यस्तै, काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ। यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ। उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन्।

नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने संक्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ। हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेशन, एक हजार १७२ जना संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा रहेका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *