९१ हजारभन्दा बढी आप्रवासीले पार गरे खतरनाक डेरियन जंगल, ५० को मृत्यु

हेल्थपोस्ट नेपाल

उत्तर अमेरिका पुग्न ९१ हजारभन्दा बढी आप्रवासीले यसवर्ष (सन् २०२१मा) पनामाको खतरनाक डेरियन जंगल पार गरेको अन्तर्राष्ट्रिय आप्रवासन संस्थान (आइओएम) ले जनाएको छ।

आइओएमका अनुसार उक्त जंगल ९१ हजार ३ सय जनाले पार गरेकोमा अधिकांश हैटीका छन्। पानामाका आप्रवासन अधिकारीलाई उद्धृत गर्दै आइओएमले जनाएअनुसार ५६ हजार ६ सय हैटीयन आप्रवासीले जनवरी र सेप्टेम्बरको बीचमा डेरियन जंगल पार गरेका हुन्।

यो जंगल ल्याटिन अमेरिकी मुलुकमै खतरनाक रुट मानिन्छ। अधिकांश आप्रवासी परिवारले आफ्ना साथमा बालबालिका पनि लगेका थिए। सन् २०१६ मा ३० हजार आप्रवासीले उक्त रुटको यात्रा गरेका थिए। तरअहिले त्योभन्दा तेब्बर आप्रवासी बढेका छन्।

कोलम्बिया र पानामाबीच ५ लाख ७५ हजार हेक्टरमा रहेको यो जंगल आपराधिक सशस्त्र ग्याङको नियन्त्रणमा रहेको छ। मानवतस्करहरुले यही रुट भएर मानिसहरुलाई अमेरिका लैजान्छन्। यसक्रममा अधिकांश लुटपाट, आक्रमण र बलात्कारको शिकार बन्ने गरेका छन्। कैयौंको मृत्यु पनि हुने गरेको छ।

सन् २०२१ मा यो जंगल पार गर्ने क्रममा ५० जनाको मृत्यु भएको पानामाका अधिकारीहरुले जनाएका छन्। केही वर्षयता बर्सेनि नै ३० जनासम्मकाृ शव फेला पर्ने गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *