दुर्गममा स्वास्थ्य सेवा : साना ‘कुरा’ले बल्झाएका ठूला रोग

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ’ निबन्धमा सानो मानिएका कुराहरुको महत्वलाई ओजपूर्ण बनाएका छन्।

उनी भन्छन्, आँखाको गेडी सानो हुन्छ। तर सन्सार हेर्न अति आवस्यक हुन्छ। महत्व विशाल छ। त्यस्तै दैनिक कृयाकलापमा पनि स-साना कुराहरूको महत्व निकै बढी हुन्छ। जुन कुरा सामान्य अवस्थामा ओझेलमा परेका हुन्छन्। पेट दु:खेको बेला दुखाइ कम गर्ने एउटा सानो गोलीको जुन महत्व महसुस हुन्छ, अरु समयमा बिर्सिरहेका हुन्छौं। कसैको व्यक्तित्वको ओज निभ्न एउटा सानो घटना काफी हुन्छ। क्रान्तिको जग पनि एउटा विचारको झिल्काबाट नै सुरु हुने गर्छ। डढेलो लाग्न एउटा सानो आगोको झिल्का पर्याप्त हुन्छ। कसैको भविष्य कुनै वेला एउटा चिठीले निर्धारण गर्ने क्षमता राख्दछ। हाम्रो वरिपरि त्यस्ता अनेकौं दृष्टान्त देख्न पाइन्छ।

फोक्सुन्डो ताल घुम्ने ठूलो रहर थियो। त्यो रहर पूरा गर्ने क्रममा साना मानिएका कत्ति कुरा निकै महत्त्वपूर्ण महसुस हुन्छ। परिस्थितिले सबै कुराको महत्व हेर्ने र अनुभव गर्ने दृष्टिकोण परिवर्तन गर्ने रहेछ।

धेरै भुमिका बाँधेकोमा रिस पनि उठिसक्यो होला। तर भुमिका आफैमा गौण कुरा लागे पनि सान्दर्भिकता दर्शाउन विशेष हुन्छ। फोक्सुन्डो जाने क्रममा डोल्पाको जिल्ला अस्पताल पनि अवलोकन गर्ने मन हुन्छ। सोही समयमा त्यहाँ कार्यरत डाक्टरले एउटा बिरामीको बारेमा चिकित्सकीय सल्लाह माग्न खोज्छन्।

बिरामीलाई एक महिनादेखि ज्वरो खोकी लागिरहेको रहेछ। तौल पनि घट्दो क्रममा रहेछ। जोसुकै डाक्टरले पनि त्यस्ता लक्षण हुँदा टि.बि.(क्षयरोग) को शंका गर्न सजिलै सक्छ। त्यसको लागि मलाई सल्लाह माग्नुपर्ने जरुरी देखिनँ।

त्यसैले सोध्छु ‘यस्तो मिल्दोजुल्दो लक्षणहरु हुँदा खकारमा टिबि छ कि छैन भनेर हेर्नुपर्ने कुरा सबैलाई थाहा छ। खास कुरा के होला अरु?’

उनले भन्छन् , ‘खकार जाँच गर्ने त हो। खकार जाँच नगरी टिबिको औषधि चलाउन सकिन्छ कि भनेर राय मागेको।’

खकार जाँच नै नगरी फोक्सोको टिबि को शंकामा औषधि चलाउन हुँदैन। रोग पुष्टि गर्न त खाकर जाँच सम्भव हुँदासम्म त गर्नैपर्ने हुन्छ। त्यो खकारले टिबीका किटाणु देखाए उपचार सुरु गर्न सजिलो हुन्छ। नदेखिएको खण्डमा अरु धेरै कुराहरुलाई हेक्का राखी विशेष अवस्थामा औषधि दिन सकिन्छ। सो बिरामीको खकार नै चेक नगरी त टिबिको औषधि सुरु गर्नु एक किसिमको स्थापित चिकित्सकीय नियम मिचिन जान्छ। कम्तिमा ६ महिना खानुपर्ने औषधिलाई हचुवामा प्रयोग गर्नु बिरामीप्रति अनुत्तरदायी हुनु हो। यदि टिबि होइन रहेछ भने फजुलमा प्रयोग गरिएका कडा औषधीका ‘साइड एफेक्ट्स’ आफैँमा रोगभन्दा हानिकारक हुनसक्छ।

तर खकारको जाँच गर्न ल्याबमा चाहिने एउटा एसिड सकिएको एक महिना बितिसकेको रहेछ। त्यसैले खकार जाँच गर्न सकिएको रहेनछ। कस्तो दुर्भाग्य!

एसिड ल्याउने प्रयास नगरिएको पनि होइन। दुई चार साना सिसिका बोत्तल ल्याउन कति नै भारी हुन्छ र! तर त्यहाँ पुग्ने सहज बाटो भनेको नेपालगन्जबाट प्लेनमा जानु हो। तर प्लेनको नियम अनुसार एउटा सानो एसिडको बोत्तल लैजान पनि पुर्ण वर्जित रहेछ। कसैले लुकाएर लैजान खोजे पनि भेटिएमा अक्षम्य अपराध जस्तै रहेछ।

त्यति सानो कुराले महिनैदेखि बिरामीहरु स्वास्थ्य सेवाको सानो तर संवेदनशील सेवाबाट वन्चित रहेछन्। रोग निदान गर्नुपर्ने अवस्थामा त डाक्टर निरीह हुनुपर्ने अवस्था रहेछ। सडक बाटोबाट आउन तीन दिन लाग्ने रहेछ। त्यति सानो कुरा खरिद गरेर ल्याउन ठूलो बजेट खर्च गर्न पनि अख्तियारकै डर मान्नुपर्ने अवस्था छ। प्रशासनको कागजी भाषाले ठूलो बजेट खर्च मात्रै देख्छ। तर सानो कुराको ठूलो महत्व नाप्नै नसक्ने रहेछ। यसको जिम्मेवार को हो त?

प्रथमतः त्यसरी दुर्गममा रहेका कार्यालयमा जिम्मेवार कर्मचारीले धेरै समय अगाडि नै आवस्यक पर्ने सामानको प्राप्ति प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। ढिलासुस्ती र असंवेदनशीलता नै हामी सबैको परिचयपत्र जस्तै बन्न पुगेको असत्य होइन। कुनै दिन यो परिचय मेटिने छ भन्ने आशा मात्रै राख्न सकिन्छ। कर्यालयको काम कर्तव्यको महत्व बुझ्न सोही सम्बन्धिको कार्यालय प्रमुख हुन निकै उत्तम हुन्छ। त्यो पछिल्ला वर्षहरुमा देखिएको राज्य प्रणालीको कमजोरी हो। र आज नभ्याएको खण्डमा नागरिकता भोलि बनाए पनि हुन्छ भन्ने मानसिकताको वातावरणले अस्पताल चल्दैन।

सो बिरामीलाई हामी टिबि को सम्भावना भएपनि बिरामीको सम्पूर्ण अवस्था केलाउँदा टिबिको औषधी सुरु नगर्ने निर्णयमा पुग्छु म। ‘लजिक’ र अनुमानका भरमा परिस्थितीसँग सम्झौता गरेर उपचार गर्न कसलाई मजा आउला र! टिबि को निदान हेतु खकार जाँच्नका लागि नेपालगन्ज वा काठमाडौँ जान सल्लाह दिनु कति लज्जास्पद हुन्छ होला।

सुन्दा सामान्य एसिड। हेर्दा सानो बोत्तल। खकार जाँच सामान्य र सर्वसुलभ। अनि सजिलै उपचार हुने रोग। ठूला कुराप्रतिको मात्रै राजनैतिक र मिडियाको चासोले ओझेलमा परेका स-साना संवेदनशील विषयहरु कति होलान्!!



2 thoughts on “दुर्गममा स्वास्थ्य सेवा : साना ‘कुरा’ले बल्झाएका ठूला रोग

  1. हो नी,सानो चीजको अभावले ठूलो समस्या आउने देखिन्छ,राज्यले यस तर्फ सजक भयर ध्यान दिनुको विकल्प छैन, डा शम्भुको वास्तविक लेख प्रति सरकारको समय मैं ध्यान जावस, शूभकामना डा.

Leave a Reply to BALGOPAL SHRESTHA Cancel reply

Your email address will not be published. Required fields are marked *