दुई नाबालक छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

हेल्थपोस्ट नेपाल

धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले आत्महत्या गरेकी छिन्। जिल्लाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले दुई छोराको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई घाँटी कसेर हत्या गरिसकेपछि गुडिया आफूले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताए।

मजदूरको काम गर्ने श्रीमान गुरुदेव कामको सिलसिलामा घर बाहिर रहेका बेला गुडियाले घटना घटाएको उनको भनाइ छ।

‘घरमा वृद्ध सासु ससुरामात्रै थिए। श्रीमान कामको सिलसिलामा जनकपुर आइपुगेका थिए,’ डिएसपी बस्नेतले भने,‘घटनाअघि तीन बजेतिर कतिखेर घर फर्कने भनेर श्रीमानलाई फोन गरेकी रहिछन्।’

श्रीमानलाई फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताएका छन्। प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको उनले जानकारी दिए।

‘घरमा श्रीमान श्रीमतीबीच कुनै किसिमको वादविवाद भएको पनि देखिँदैन। दुवै जनाको प्रेम विवाहलाई गुडियाको माइतीपक्षले स्वीकार गरेको छैन,’ उनले भने,‘घटनाको अनुसन्धान भइरहको छ। थप कुरा बिस्तारै खुल्ला।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *