सरकारी चिकित्सक संघले भन्यो– बिना कारण डा. बिच्छाको म्याद थपियो, विज्ञताको धज्जी उड्यो

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक डा. आरपी बिच्छाको २ बर्ष म्याद थप गर्ने सरकारको निर्णय प्रति आपत्ति जनाएको छ । उक्त निर्णय तत्काल सञ्चाउन पनि गोदानले सरकारसँग माग गरेको छ।
विहीबार गोदानका एक विज्ञप्ती जारी गर्दै विना कुनै कारण सेवा म्याद अवधी थप गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘कुनै विशेषज्ञको विज्ञता राष्ट्रलाई आवश्यक भएकोमा निजको सेवा अवधी थप गर्नु र निजको विज्ञताको सदुपयोग गरिनु स्वागत लायक हुनसक्छ। तर विज्ञताको नाममा कार्यकारी पद नै सुम्पिन खोज्नु हास्यास्पद एवं गलत मनसायपूर्ण छ । यसले महानिर्देशक हुन योग्यता पुगेका अन्य कर्मचारीलाई निराश र निरुत्साहित मात्र पारेको छैन कि अनुभव, लक्ष्य पद्धति आदि सबैको धज्जी उडाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा विच्छाको सेवा अवधी दुई बर्ष थप्ने निर्णय गरेको थियो।
स्वास्थ्य सेवा ऐनको दफा, ४२ को उपदफा १ मा स्वास्थ्य सेवाका कर्मचारीको सेवा उमेर हद ६० वर्ष तोकिएको छ। सोही ऐनको दफा २ मा दफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले विशेषज्ञ सेवा आवश्यक ठानेमा बढीमा तीन वर्ष सेवाअवधि थप्न सक्ने प्रावधान छ।
तर, यसरी सेवा अवधि थप भएका कर्मचारीले महानिर्देशक, निर्देशक तथा कुनै पनि प्रशासनिक पदमा बस्न भने पाउँदैनन्।
प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजुको दबावमा थप दुई बर्ष महानिर्देशक बनाउने योजनाका साथ म्याद थप गरिएको हो।