रक्सी खाएर स्वास्थ्यकर्मीमाथि हातपात, आक्रमणकारी फरार

हेल्थपोस्ट नेपाल

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो ।

पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले रक्सी खाएर हिजाे बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः०० बजेतिर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए ।

कोरोना खोप नलगाएको भन्दै रक्सी खाएर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको उनले बताए । स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीकाे भनाइ छ । घटनापश्चात हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चार जनाले धुनसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन् ।

हातपात र गालीगलौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए । उनले भने, ‘हातपात र गालीगलौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घटना के हो, के कारणले घटना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।’ हातपात र गालीगलौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *