शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रालय एकिकृत समाजवादीलाई

हेल्थपोस्ट नेपाल

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन्। बालुवाटारमा बिहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो।

नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन्।

‘शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ, ४ बजे शपथ गराउने गरी तयारी भएको छ,’ बालुवाटार श्रोतले भन्यो ।

गठबन्धनमा मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको नेकपा एकिकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति जुटेको छ।

एकिकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ । उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ।

नेताहरुको सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा बातावरण पाउने भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *