मृतक बालिकाका आफन्त भन्छन् : अस्पताल तोडफोड गरेका छैनौं

हेल्थपोस्ट नेपाल

जिल्ला अस्पताल पाँचथरमा भएको तोडफोडमा आफूहरूको कुनै संलग्नता नरहेको मृतक तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङका परिवारले स्पष्ट पारेको छ। आफन्त रणबहादुर थाम्सुहाङ, मन्जिल तोम्बापो र नाताले फुपू पर्ने गिता लिम्बूले बुधबार राति विज्ञप्ति निकालेर अस्पतालजस्तो संवेदनशील क्षेत्रको तोडफोडमा आफूहरूको संलग्नता नभएको स्पष्ट पारेको हो।

शान्ति सुरक्षामा खलल पुर्‍याउने र हुलहुज्जत गर्ने गतिविधि आफूहरुको परिवारको तर्फबाट नभएको विज्ञप्तिमा लेखिएको छ। ‘उपचारको क्रममा कृष्टिनाको निधन भएपछि हामी मर्माहत भएका छौं’, आफन्तले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘बुधबार साँझ ७ बजेदेखि सुरु भएको अस्पताल तोडफोडमा हामी र हाम्रो परिवारको कुनै पनि संलग्नता छैन।’

तर, सुरक्षा निकायले कृष्टिनाको परिवारले अस्पताल तोडफोड गरेको भन्दै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। सामान्य बिरामी भएर उपचारका लागि बुधबार बिहान अस्पताल पुर्‍याइएकी कृष्टिनाको चिकित्सकले इन्जेक्सन लगाउनेबित्तिकै मृत्यु भएको थियो। बालिकाको मृत्युपछि आक्रोसित स्थानीयले घटनाको स्वतन्त्र छानबिन र दोषीलाई कारबाहीको माग गर्दै राति अबेरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै अस्पतालमा तोडफोड भएको छ। तोडफोडबाट अस्पतालको झ्याल फुटेको पाँचथर प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *